काठमाण्डौ/ मोरङको गोठगाउँस्थित पूर्वाञ्चल बिश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ। शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल बिश्वबिद्यालय बीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हो।
मन्त्री परिषदले पूर्वाञ्चल बिश्वबिद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्ने गरी त्रिपक्षीय सम्झौता गरिएको प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘कोशी अस्पताललाई प्रयोगात्मक अभ्यासका लागि प्रयोग गरेर पूर्वाञ्चल बिश्वबिद्यालयमा मेडिकल कलेज चलाउने गरी सम्झौता भएको छ,। डा.शर्माले ‘अव चिकित्सा शिक्षा आयोगबाट बाँकी प्रकृया पुरा गरेर मेडिकल कलेज सञ्चालन गर्छौँ’ भन्नुभयो।
![](/uploads/advertise/janata school_1720267096.jpg)
सम्झौता पत्रमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल र पूर्वाञ्चल बिश्वबिद्यालयका उपकुलपति यादवराज कोइरालाले हस्ताक्षर गर्नुभएको छ।
यसअघि ०७८ माघ २४ गते विराटनगरस्थित कोशी अस्पतालले पूर्वाञ्चल बिश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति जनाएको थियो। सहमतिको एक वर्षपछि ०७९ माघ २३ गते मन्त्रिपरिषद बैठकले बिश्वविद्यालय र कोशी अस्पताल बीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलेको हो। मन्त्री परिषद्को स्वीकृतिपछि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल बिश्वबिद्यालय बीच त्रीपक्षीय सम्झौता गरेर थप प्रकृया अघि बढाइएको हो।
![](/uploads/advertise/jeniksh_1697522121.gif)
मेडिकल कलेज सञ्चालनका लागि ३ सय बेडको अस्पताल चाहिने प्रावधान छ। तर, पूर्वाञ्चल बिश्वविद्यालय सँग हाल सो क्षमताको अस्पताल छैन। सोही कारण चिकित्सा शिक्षा अध्ययनका क्रममा बिद्यार्थीले बिराटनगरस्थित कोशी अस्पतालमा अभ्यास गर्ने गरी सम्झौता गरिएको हो। विद्यार्थीको पढाई भने गोठगाउँस्थित पूर्वाञ्चल बिश्वबिद्यालयमै हुनेछ।
यता, पूर्वाञ्चल बिश्वबिद्यालयमै रहेको अस्पतालको क्षमता बिकास गर्ने गरी काम पनि भईरहेको छ। प्रतिनिधि सभा सदस्य डा.शर्माले त्यसका लागि निरन्तर पहल गरिरहनुभएको छ।
मोरङको क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्माले गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने बिषय चुनावी एजेण्डाकै रुपमा अघि सार्नुभएको थियो। सोही अनुरुप उनी मेडिकल कलेज सञ्चालन गराउन दौडधुप गरिरहनुभएको छ।