इटहरी/ इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ईरिक्सा चलाउन नदिने भएको छ। इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा भोलि(आइतबार) देखि उपमहानगरले तीन पाङ्ग्रे ई–रिक्सा चलाउन रोक लगाएको हो।

इटहरी उपमहानगरपालिकामा दर्ता भएका सफारी मात्र उपमहानगरपालिका भित्र चलाउन दिने पनि निर्णय भएको छ। बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको हो। इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्व बीच सहमति गरेर निर्णय भएको हो। अब देखि सिटी सफारीहरू मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभाबी यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताउनुभयो।

शुक्रवार इटहरी उपमहानगरपालिकामा बसेको बैठकले इटहरीको मुख्य चौक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालयका डिएसपी मोहन बिक्रम दाहालले जानकारी दिनुभयो। अहिले उपमहानगरपालिकाले नै सफारी दर्ता गर्दै आएको छ। अहिले ई–रिक्सा सवारी कार्यविधि अनुसार मात्र दर्ता गरी चलाउन पाइने भएको छ।

अव इटहरीमा अन्य पालिकाको सफारीहरु यात्रु पर्खेर बस्न पाउने छैनन्। कार्यविधि अनुसार व्यवस्थित गर्दै ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ। जसले गर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने उपमहानगरले जनाएको छ। इटहरी भित्र करिब ५ हजार सफारी सञ्चालनमा रहेको तर इटहरीमा केवल ११ सय सफारी मात्र दर्ता प्रक्रियामा आएको इटहरी उपमहानगरले जनाएको छ।