इटहरी । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल आवश्यक नभएको बताएका छन् । धरानमा विमानस्थल निर्माणको चर्च वर्षाैदेखि चल्दै आएको छ । जसका लागि निर्माण गर्ने तयारी भएको क्षेत्रको जग्गा कित्ताकाटमा रोक लगाइएको छ ।

विराटनगरमा विमानस्थल भएका कारण धरानमा आवश्यक नरहेको उनले बताए ।

‘विराटनगरमा यत्रो एयरपोर्ट छ, धरानमा पनि अर्काे एयरपोर्ट चल्छ जस्तो मलाई लाग्दैन, उदयपुरमा पनि एयरपोर्ट बन्दैछ,’ उनले भने,‘ यति नजिक–नजिक एयरपोर्ट बनाएर हामीले के गर्न खोज्दैछौं, यो बस स्टेन्ड हो र ? जहाज उड्ने हो, अर्बौं खर्च गरेर एयरपोर्ट बनाउने तर जहाज नउडाउने गर्नु भएन, एयरपोर्ट आवश्यकताका आधारमा बन्नुपर्छ ।’

उनले धरानमा विमानस्थल बनाउनुको साटो विराटनगर धरान सडकलाई व्यवस्थीत गर्नुपर्ने बताए । ‘आठ लेनको सडक बन्दैछ, आधा घण्टामा धरानबाट विराटनगर आउने बातावरण बनाउनुपर्छ, विराटनगर एयरपोर्टलाई विस्तार गर्नुपर्छ,’ उनले भने ।