इटहरी/ इटहरीमा अवैधानिक तवरबाट बढाइएको करले नगर बासीहरू प्रत्यक्ष मारमा परेको निष्कर्ष सहित नागरिक समाज चरणबद्ध आन्दोलनमा उत्रिएको छ। उपमहानगरले अचाक्ली बढाएको करको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदै आएको नागरिक समाज इटहरीले थप आन्दाेलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ।

मङ्गलवार इटहरीमा पत्रकार सममेलनकाे आयोजना गर्दै नागरिक समाज इटहरीले विभिन्न आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो। कार्यक्रमहरूमा आगामी भदौ २२ गते उपमहानगरको कार्यालय गेट बाहिर मौन धर्ना दिइने , २३ गते सराेकारवालाहरूसंग छलफल तथा बृहत् भेला गर्ने र २५ गते बृहत् नागरिक भेला गरी ‘नो ट्याक्स’ घोषणा गर्ने सम्मको कार्यक्रमहरू सार्वजनिक गरेको छ।

कर वृद्धिको बारेमा उपमहानगरलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर थप आन्दोलन घोषणा गर्नुपरेको नागरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराइले बताइन।

आर्थिक मन्दीको कारण व्यवसायीहरू पलायन भइरहेको र सर्वसाधारणले हातमुख जोर्न समस्या भइरहेको समयमा कर वृद्धि अन्यायपूर्ण भएको समाजको ठहर छ। नगर विकासको योजना समेत बनाउन नसकेको र पुँजीगत खर्च पुरै उपयोगसमेत गर्न नसकेको अवस्थामा कर बढाउनु उपयुक्त नभएकोसमेत नागरिक समाजको ठहर छ।