इटहरी/ इटहरीका सरकारी बिद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई अवदेखि दिवा खाजामा पकाएरै खुवाउनुपर्ने अनिवार्य नियम बनाएको छ। उपमहानगरपालिकाले अवदेखि बिद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो।
जङ फुड नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजाको टेण्डर जारी गरेको हो। उपमहानगरपालिकाले हरेक दिन फरक–फरक खाजाको मेनुसहित बोलपत्र आह्वान समेत गरिसकेको छ।
![](/uploads/advertise/janata school_1720267096.jpg)
उपमहानगरपालिका खरिद शाखाका अनुसार आइतबार प्रति बिद्यार्थी २१० ग्राम तीन किसिमका फलफूल खुवाउनुपर्नेछ। यस्तै, सोमबार भुटेको अण्डा र चिउरा खुवाउनुपर्नेछ। साहाकारीका लागि भने मटरसँगै पनिर र चिउरा खुवाउनुपर्नेछ । मंगलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउपर्नेछ। बुधबार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ ।
उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचनामा विहीबार दही, चिउरा र तरकारी खुवाउनुपर्ने । यस्तै, शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । साहाकारीका लागि भने मटर–पनिर र चिउरा खुवाउनुपर्नेछ ।
![](/uploads/advertise/jeniksh_1697522121.gif)
सार्वजनिक विद्यालयहरूमा बालबालिकालाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्दि गर्न दिवा खाजा कार्यक्रम कक्षा १ देखि ६ सम्मका बिद्यार्थीका लागि खुवाउँदै आएको छ ।
यसअघि संघीय सरकारले स्थानीय तहमार्फत विद्यार्थीको दिवा खाजाको रकम विद्यालयलाई प्रदान गर्दै आएको थियो तर, बिद्यालयमा समयमै रकम नआउँदा खाजा खुवाउन समस्या हुने गरेको बिद्यालय प्रशासनले जनाउँदै आएको थियो ।
इटहरी उपमहानगरपालिकाले अब नयाँ मेनु सार्वजनिक गरेसँगै दिवा खाजा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा नौ करोड ३२ लाख ६ हजार २० रुपैँया ८८ पैसा खर्च हुने उपमहानगरपालिकाले जनाएको छ।
इटहरीका मेयर हेमकर्ण पौडेलले संघीय सरकारबाट प्राप्त १ करोड ९८ लाख रुपैँया ८४ हजार संघीय सरकारबाट प्राप्त अनुदान र बाँकी उपमहानगरपालिकाले दिवा खाजामा लगानी गर्ने बताउनुभयो।
इटहरीमा दिवा खाजा खुवाउनुपर्ने ५० वटा शिक्षालय रहेका छन्। जसमा सामूदायिक, धार्मिक र बालविकास केन्द्र पर्दछन्। यी बिद्यालयका आठ हजार २८ जना दिवा खाजा कार्यक्रमबाट लाभान्वित हुने उपमहानगरपालिका खरिद शाखाका खेम श्रेष्ठले बताउनुभयो।