इलाम । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट गृह जिल्ला इलाम शोकमा डुबेको छ । नेकपा (एमाले)का उपाध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ प्रतिनिधिसभामा इलामबाट पाँच पटकसम्म सांसदका रुपमा निर्वाचित भएका थिए । इलामका मतदाताले नेम्वाङलाई संविधान निर्माण र इलामको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रुपमा स्मरण गरेका छन् ।

विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको अध्यक्ष भएका उनी २०५६ सालको निर्वाचनपछि कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भए । कानुन व्यवसायी र प्राध्यापक समेत रहेका उनी २०२९ सालमा अनेरास्ववियुका अध्यक्ष समेत भए । विसं २०३३ मा राजद्रोहीको मुद्दामा जेल परेका उनी २०६४ र २०७० मा संविधानसभा अध्यक्ष बने ।

विसं २००९ मा इलामको सुन्तलाबारमा जन्मिएका उनले राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकतामा जोड दिन्थे । एमाले इलामका सचिव उमेश गुरुङले उनको मृत्युले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताए । उनकै अध्यक्षतामा नेपालमा संविधान जारी भएको भन्दै नेपाली जनताले नेम्वाङलाई सधै स्मरण गरिरहने उनको भनाइ छ ।

नेपाली कांग्रेस इलामका पूर्व जिल्ला सचिव राजेन्द्र शर्माले नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति बेहोरेको भनाइ व्यक्त गरे । नेकपा (माओवादी केन्द्र) इलामका कार्यालय सचिव तथा प्रदेश परिषद् सदस्य प्रकाश परियारले नेम्वाङको निधनबाट देश र जनताले एक इमान्दार नेता गुमाएको बताए ।

किरात याक्थुम चुम्लुङका संस्थापक समेत रहेका नेम्वाङले संविधान निर्माणमा महत्वपूर्ण योगदान रहेको भन्दै किरात याक्थुम चुम्लुङ का सङ्घीय सचिव अभिषेक एक्तेनले नेपाली जनताले उनलाई सदैव स्मरण गर्ने बताए । नेम्वाङको निधनको शोकमा एमालेले पार्टीको झण्डा आधा झुकाएको छ । पार्टीले तीजलगायतका कार्यक्रम रद्द गरेको एमाले इलामका उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए ।