इटहरी । सुनसरीको इटहरी स्थित विश्व आदर्श स्कुल अन्तरगत गठित इन्ट्रयाक्ट क्लबले एक वृद्धा आश्रममा रहेका वृद्धा आमाहरूसँग तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा खाजा खान राखेको पैसा जोगाएर क्लबका सदस्यहरूले इटहरी उपमहानगर १७ पकली स्थित राम जानकी वृद्धा आश्रमका आमा सँग तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

आश्रममा रहेका बृद्धाहरूलाइ फलफूल तथा मिस्ठान्न भोजन गराएर क्लबका सदस्यहरूले तिज विशेष कार्यक्रम गरेका हुन । चारैतिर तिजको रौनक चलिहेकाे बेला आश्रममा रहेका आमाहरूको मन भुलाउन हामीले सानो कार्यक्रम गरेको क्लबका अध्यक्ष नयन कुमार कार्कीले बताए । उनले यो कार्यक्रम संगै आमाहरूसंग भेटघाट गरी आशीर्वाद लिने काम गरिएको बताए ।

त्यस्तै कोही नभएर आश्रममा जीवन व्यतीत गर्दै आउनुभएका आमाहरूसँग रमाइलो सँगै उहाहरूकाे मुहारमा केही क्षण खुसी भर्नकै लागि भए नि तिज विशेष कार्यक्रम गरिएको क्लबका उप सचिव इसाक बनले बताए । आगामी दिनमा पनि स्कुल सँग सहकार्य गरी सामाजिक कामहरूलाई निरन्तरता दिइने
क्लबका उपसचिव बनले बताए ।

विश्व आदर्श स्कुलमा विद्यार्थीहरूभित्र रहेको कलालाई अझ उजागर गराउने उद्देश्यले इन्ट्रयाक्ट क्लबको स्थापना भएको र यो क्लबले विद्यालय परिसरमा मात्र नभए नगर क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरू गर्दै आएका स्कुलका शिक्षक फडिन्द्र खडकाले बताए । तिज भन्ने बित्तिकै हिन्दु नारीहरूको महान् पर्व मानिन्छ तर जसको कोही छैन उनीहरूको लागि पनि यो पर्व त्यतिकै महत्त्वपूर्ण हुने भएकाले यो वर्षको पर्वलाई फरक ढङ्गले मनाउने भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले खाजा खान ल्याएको पैसा जोगाएर वृद्धा आश्रममा पुगेर यो कार्यक्रम गरेको स्कुलका शिक्षक खडकाले बताए ।