काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले दुई चारजना नेताका कारण देशको शिक्षा ध्वस्त भएको आरोप लगाएका छन्। दुई चारजना नेताको सोचमा परिवर्तन नभएसम्म शिक्षाजस्ता जतिसुकै राम्रा विधेयकहरु बनाउन खोजे पनि निकम्मा हुने उनले बताए। विद्यालय शिक्षालाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०८० बारे शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद शर्माले नेपालको शिक्षा अस्तव्यस्त पार्न शीर्ष नेताहरु दोषी भएको आरोप लगाए।

उनले पूर्व शिक्षक एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगाउने ६५ लाखदेखि दुई करोडको घडी र प्रचण्ड पुत्रीको गुची ब्यागसहितका सम्पत्ति बिक्री गरेर दूरदराजका विद्यालयमा लगानी गर्नुपर्ने बताए। ‘राजनीतिक सोच, नेताहरुको सोच, विशेषतः दुई चारजना माथि बस्ने नेताहरुको सोचमा जबसम्म परिवर्तन हुँदैन तबसम्म हाम्रा यी विधेयकहरु जतिसुकै राम्रा बनाउन खोजे पनि ती निकम्मा भएर जाने छन्’, उनले भने, ‘त्यसकारण मेरो आग्रह के छ भनेदेखि प्रचण्डले लगाउने दुई करोड वा ६५ लाखको घडी र छोरी गंगाले बोक्ने गुची ब्यागलाई लिलामीमा राखेर दूरदराजका प्वाँल परेका स्कुलहरुका छाना टालौँ। बच्चाहरुले पढ्न पाएका छैनन्, पढ्ने वातावरण बनाऊँ।’

उनले पूर्वशिक्षक प्रधानमन्त्री हुँदा पनि शिक्षकहरू आन्दोलित हुनुपरेको बताएका छन्। ‘प्रचण्डजी भीमोदय मावि आरुघाटमा पढाउँदै अहिले देशको नेतृत्व गर्न आइपुग्नु भएको छ। हिजोअस्ति भर्खर शिक्षक साथीहरु सडकमा हुनुहुन्थ्यो’, उनले भने, ‘हजारौँको संख्यामा शिक्षक साथीहरु यो नेपालको सडकमा गाउँबाट आएर माग राखेर लडिरहनु भएको थियो। एउटा शिक्षक जो आज यो देशको प्रधानमन्त्री बन्नु भएको छ। एउटा शिक्षक जसले आज देशको नेतृत्व गर्नुभएको छ, अर्को शिक्षक आज आफ्नो जागिर जोगाउन दुई छाक गाँस, बास र कपासका लागि खागीको झोला भिरेर, हात्तीछाप चप्पल लगाएर सडकमा छ।’उनले सम्बोधनका क्रममा वरिष्ठ साहित्यकार एवम् वामपन्थी नेता मोदनाथ प्रश्रितको कविता पनि वाचन गरे।

‘लालाबाला विचल्ली छन् बुकुरा लल्लबिल्ल छन्
धनीहरु महलमा पल्टीपल्टी डकार्दछन्
दिनको काम सकेर साँझमा घर फर्कँदा
चौपारीको बिसौनामा खेताराहरु सोध्दछन्
भन्नुहोस् मास्टरजी आज किन यस्तो भो संसार’