बिराटनगर । संविधानको धारा १६८ (३) अनुसार कोशीको मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनका लागि बाटो खुलेको छ। अब बन्ने सरकार सोही धाराको उपधारा ५ अन्तर्गत बन्नेछ। जसमा मुख्यमन्त्री दाबी गर्नका लागि संसदीय दलको नेता चाहिन्न। प्रदेशसभाका जुनसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्छन्।

कार्कीको राजीनामासँगै गठबन्धन दलका नेताहरू मुख्यमन्त्रीमा दाबी गर्न थालिसके।शनिबार नै प्रदेशसभा बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गरिसकेका छन्।माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले कांग्रेसले यसअघि दुई पटक सरकार बनाउँदा पनि विश्वासको मत नपाएको भन्दै अब माओवादीको नेतृत्वमा सरकार गठन हुनुपर्ने तर्क अघि सारेका छन्।

उनले माओवादीसँगै गठबन्धन गरेर मध्यावधि निर्वाचनबाट देशलाई पर धकेल्नका लागि राप्रपाका नेताहरू पनि संवादमा रहेको बताएका छन्।उता, यसअघि दुई पटक पदमुक्त भएका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्। गठबन्धनका शीर्ष नेताहरूले निर्णय लिने भन्दै उनले यसअघि मुख्यमन्त्री भएको बेलामा काम गर्न नपाएको गुनासो पनि गरे।

कोशीमा बन्न लागेको यो पाचौं सरकार हो। यो सरकार बनेसँगै यहाँ सरकार बन्नसक्ने संविधानका सबै धाराहरूको प्रयोग भइसक्नेछ । गतवर्ष पुस १७ गतेबाट सुरु भएको प्रदेशसभाको दोस्रो कार्यकाल १० महिला पूरा नहुँदै पाँचौपटक गठन हुन लागेको हो। पहिलो पटक एमाले, माओवादी, राप्रपा र जसपासहितको सहभागितामा हिक्मत कार्कीकै नेतृत्वमा पहिलो सरकार गठन भएको थियो। तर, असार १५ मा कार्की नेतृत्वको सरकार ढल्यो। राष्ट्रपतिको निर्वाचनमा केन्द्रमा सत्ता गठबनधन फेरिएसँगै कोशी सरकार ढलेको थियो।

पहिलो र चौथो सरकारको नेतृत्व कार्कीले गरे भने दोस्रो र तेस्रो सरकारको नेतत्व थापाले गरेका थिए। अहिलेको प्रदेशसभामा रहेका ९३ सदस्यीय सांसदमध्ये बहुमतका लागि ४७ सदस्य चाहिन्छ।कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टीको १ सांसद रहेका छन्।