ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नेरुवा खोलामा आएको बाढी र पहिरोले अवरुद्ध साँघु सडक तीन महिनापछि खुलेको छ । गाउँपालिकासँग भएको व्याकहो लोडर (जेसीभी) प्रयोग गरेर पहिरो पन्छाएपछि साँघु सडक खुलेको हो ।

बाढी र पहिरोले क्षतिग्रस्त ग्रामीण सडक खुलाउनलाई ६ दिन निरन्तर जेसीभी प्रयोग गरिएको थियो । क्षतिग्रस्त सडक मर्मत तथा पहिरो पन्छाउने काम सम्पन्न भएसँगै शनिबार दिउँसोदेखि सडक सुचारु भएको गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।

अध्यक्ष वनेमका अनुसार गाउँपालिकाको वडा ३ र ४ साँघु टोल जोड्ने उक्त सडक खण्ड खुलेपछि शनिबारदेखि नै यातायातका साधनहरू सञ्चालनमा आएका छन् । नजिकिएको दसैँ र तिहारजस्ता चाडपर्वमा सर्वसाधारण यात्रुको यात्रालाई सहज बनाउने उद्देश्यसहित अवरुद्ध सडक खुलाउनलाई गाउँपालिका लागिपरेको वनेमको भनाइ छ ।

यस्तै, यातायातका साधन सञ्चालनमा कठिनाइ हुनेगरी क्षति तथा अवरुद्ध भएका गाउँपालिकाभित्रका अन्य सडकको मर्मत र पुनः निर्माण गर्ने कामलाई निरन्तरता दिँदैआएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाका सबै वडालाई जोड्ने मुख्य सडकहरू पहिरोका कारण अवरुद्ध बनेका र चाडपर्वलाई लक्षितगरी सहजरुपमा यातायातका साधना सञ्चालन हुनेगरी अवरुद्ध सडकको मर्मत तथा पुनर्निर्माणको काम गर्ने योजना बनाएरै काम सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

हालसम्म सञ्चालनमा नआएका बाँकी सडकहरू पनि मर्मत–सम्भार गरेर केही दिनभित्रै यातायात नियमित गरिने गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी लिम्बूले बताउनुभयो । गत असार २ गतेको भीषण वर्षापछि गएको बाढीपहिरोका कारण मैवाखोला गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन् ।