काठमाडाैं । सरकारले संसदको जारी वर्षे अधिवेशन आज (बिहीबार) अन्त्य गर्ने तयारी गरेको छ । बिहीबार बिहान ११ बजे प्रतिनिधि सभाको वर्षे अधिवेशनको अन्तिम बैठक बस्ने माओवादी केन्द्रका संसदीय दलका नेता हितराज पाण्डेले जानकारी दिए ।बुधबार सभामुख देवराज घिमिरेको नेतृत्वमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । जसमा बिहीबार बिहानको प्रतिनिधि सभा बैठकमा दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने लगायतका कार्यसूचीको बारेमा छलफल भएको थियो ।

संसद अधिवेशन अन्त्यका लागि औपचारिक रुपमा पत्र प्राप्त नभएपनि अनौपचारिक रुपमा अधिवेशन अन्त्यको जानकारी आएको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए । अधिवेशन अन्त्यको दिन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरु टेबुल गरिने, सभामुखले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको सूचना सभाको स्वीकृतिको लागि पेश गर्ने लगायतका कार्यसूची रहनेबारे छलफल भएको प्रवक्ता गिरीले जानकारी दिए । एउटा अधिवेशन र अर्को अधिवेशनको बीचमा यति समय खाली राख्नुपर्छ भन्ने कुनै व्यवस्था नभएकोले संसद्को वर्षे अधिवेशन अन्त्य भए पनि आवश्यकताका आधारमा सरकारले हिउँदे बैठक आह्वान गर्न सक्ने माओवादी प्रमुख सचेतक पाण्डेले बताएका छन् ।

बिहीबार बिहान ९ बजे मन्त्रीपरिषद्को बैठक राखिएको र सो बैठकले अधिवेशन अन्त्यको निर्णय लिनसक्ने सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । बजेट अधिवेशनको रुपमा समेत रहेको वर्षे अधिवेशन यसअघि सामान्यता साउन भदौ महिनामा सकिने भएता पनि संसदमा विचाराधीन केही विधेयक पारित गर्नका लागि बैठक लम्बाइएको थियो ।

प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक विचाराधीन पारित हुन बाँकी छन् । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन सुरु र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ ।