काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो । गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले मानवीय र भौतिक रुपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

जाजरकोट भूकम्पमा परी हालसम्म १५३ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा धेरै घाइतेका छन् । हजारौँ घर भत्किएका छन् । जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ । आसपासका जिल्लाहरूमा पति भौतिक क्षति पुगेको छ । भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा हालसम्म ८२ जना बालबालिकाको मृत्यु भएको छ। सरकारले मृतकका परिवारलाई २ लाख दिने घोषणा गरेको छ । प्रचण्डले राहत विवरण एकद्वार प्रणालीबाट वितरण हुने जानकारी गराएका छन् । सरकारले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा भइरहेको जनाएको छ ।

यता भूकम्पका कारण घरबारविहीन बनेका पीडितले हालसम्म राहत पाउन सकेका छैनन्। सरकारी तथा गैरसरकारी निकायले भूकम्पपीडितका लागि उपलब्ध गराउने भनिएको राहत सामग्री सुगममै थन्किएको छ । भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जाजरकोट सदरमुकाम खंलगा र पालिकाको केन्द्रमै राहत थन्किएको छ । भूकम्पबाट घरबारविहीन भएको तीन दिनसम्म पनि त्रिपाल, खाद्यान्न र कपडालगायतका राहत सामग्रीहरू नपाउँदा थप समस्या भएको पीडितको गुनासो छ ।