दुबइ । यूएईमा जारी राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) लाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिमालयलाई बचाउन आग्रह गरेका छन् । सम्बोधनको सुरुमै प्रचण्डले आफू ३० मिलियन नेपालीको सन्देश बोकेर आएको उल्लेख गर्दै तापक्रम वृद्धिले हिमालय सताइएकाले यसलाई बचाउन आफूहरूको स्पष्ट सन्देश रहेको बताएका छन् । 

प्रचण्डले नेपालको जलवायु परिवर्तनमा शून्य भूमिका भए पनि असर भने सबैभन्दा धेरै भोग्नुपरेको भन्दै अन्तर्राष्ट्रिय जगतलाई सचेत गराएका छन् । उनले भने, ‘म हालैको आईपीसीसी प्रतिवेदनका निष्कर्षहरूप्रति गहिरो रुपमा चिन्तित छु, जसमा जलवायु प्रेरित प्रकोपहरूले हिमालयमा कीर्तिमान तोडिरहेका छन् । विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको छ ।’

प्रचण्डले आफूहरूमथि डर लाग्दो अन्याय भएको समेत बताएका छन् । उनले भने, ‘हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा जनता पहिरो, बाढी, जङ्गलको डढेलो, ग्लेशियर लेक प्रकोप, खडेरी आदि जस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएका छन् । यो सरासर अन्याय हो । यो अब रोकिनु पर्छ ।’

प्रचण्डले एकतिहाइ ग्लोसियर गुमाइसकेको भन्दै अब ढिला गर्न नहुने बताए । उनले हिमालय मानवताको आधार भएको उल्लेख गर्दै बिलियन मानिसहरूलाई हिमालयले बचाएको भए पनि अहिले हिमालय आफै समस्यामा परेको बताए ।प्रधानमन्त्री प्रचण्डले जलवायु अनुकूलनका लागि नेपालले गरेका कामहरूबारे पनि अन्तर्राष्ट्रिय समूदायलाई अवगत गराए ।

उनले भने, ‘भर्खरै, मैले स्पष्ट रोडम्याप र रणनीतिहरूसहित राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन दिशानिर्देशहरू अनावरण गरें । नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध छ । हामी सन् २०४५ सम्ममा नेट शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्न प्रतिबद्ध छौं, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगाडि । हामीले हाम्रो जलविद्युत क्षमतालाई स्वच्छ ऊर्जा सुरक्षित गर्न र ४५ प्रतिशत जङ्गलले ढाकेको जमिनलाई कायम राख्न पूर्ण रूपमा उपयोग गर्नेछौं ।’