बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका वडा नम्बर-६ मा रहेको महेन्द्रनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आफ्नो सेवा विस्तार गरेको छ । साबिक महेन्द्रनगर गा.बि.स. अर्थात हालको बराहक्षेत्र नगरपालिकाका वडा नम्बर-६,७ र ८ मा सेवा दिँदै आएको समितिले वडा नम्बर-८ को खानेपानी नपुगेका गाउँहरु मोरङ लाईन, धनकुटे लाइन र सालबनीमा आफ्नो सेवा विस्तारका लागि पाइप लाइन बिछ्याउने कार्यलाई तिब्रताका साथ अगाडी बढाएको छ । यस कार्यले उक्त गाउँका उपभोक्ताहरुमा अत्यन्तै खुशी छाएको छ ।

422197744_358204537037773_760228849014644026_n

समितिका अध्यक्ष भवानी धिमालका अनुसार एसियायी बिकास बैंक (एडिबि) को सहयोगमा खानेपानी बिभाग मार्फत आएको १ करोड २५ लाख (भ्याट बाहेक) को लागतमा हालको ८.५ कि.मि.पाइप लाइन बिस्तार र थप बोरिङ गर्ने कार्य भएको हो । हालको विस्तारित सेवाबाट २०० घर उपभोक्ता लाभान्वित हुने छन् । समितिले हाल सम्म ३ हजार घरधुरीलाई चौबीसै घण्टा पानी वितरण गर्दै आइरहेको छ ।

421560742_2654929384659019_59324388567972916_n

हाल नयाँ सदस्य बन्न १० हजार ५ सय रुपैयाँ लाग्ने र न्युनतम शुल्क १२० र सेवा शुल्क १० रुपैयाँ मात्र लिने गरेको समितिका कर्मचारी भरत घिमिरेले बताएका छन् । समितिमा हाल ७ सदस्यीय संचालक समिति र ७ जना कर्मचारी रहेका छन् । समितिले बि.स. २०७४ मङ्सिर १९ गते देखि उपभोक्ताको धारामा पानी वितरण गरिरहेको छ ।

416345115_3619156558299211_7951874755919795303_n

यस समितिको निर्धारित लक्ष्य ४ हजार ५२ घरधुरी भएको र उक्त लक्ष्य पूरा भए संगै अधिवेशन गरि नयाँ संचालक समिति निर्माण गर्ने अध्यक्ष धिमालले बताएका छन् । साथै यो समितिलाई नगरपालिकाबाट विशेष प्राथमिकता साथ हेरियोस् भन्ने आग्रह समेत अध्यक्ष धिमालको रहेको छ ।

427919584_934528148260327_4070090948709708785_n