इटहरी/ बर्ष २०८० इटहरीवासीका लागि आशा जगाएको वर्ष रह्यो। स्थानीय सरकार अर्थात् इटहरी उप–महानगरपालिकाले नयाँकामको शुरुवात गर्दै निराश बनेका नगरबासीलाई थोरै भएपनि आशा जगायो। २०८० सालमा धेरै नयाँ काममा हात हालेको इटहरी उप–महानगरले सम्भावना अझै बाँकी रहेको अनुभूत गरायो।
निर्वाचित भएको पहिलो वर्ष खासै कामको मेलो अगाडी बढ्न नसकेपछि इटहरीवासीमा उत्साह छाएन, जो आएपनि उस्तै भन्दै निराश बने । तर ०८० सालमा भने इटहरी उप–महानगरले देखाएको सक्रियताले नगरबासीमा नयाँ आशा पलायो ।
उप–महानगरले वर्षको अन्तिम महिनाबाट टेङ्ग्राखोला सफाइ अभियान शुरु गर्यो । धेरैले खोला पैनी सफाइ होला र ? भन्दै अविश्वास गरेका थिए। अघिल्ला सरकार जस्तै यो सरकारले पनि काम गर्नेमा इटहरीवासीमा विश्वास थिएन । तर उप–महानगरले काम थाल्यो। यो कार्यलाई लिएर इटहरी उप–महानगरलाई हेर्ने दृष्टिकोणमा थोरै भएपनि बदलाव आएको छ।
वर्षको शुरुवातमा कर वृद्धिको तीव्र विरोध भयो । तर कर समायोजन गरेपछि भने विवाद मत्थर भयो। सार्वजनिक शौचालय, अस्पताल सुधार, विद्यालय खाजा कार्यक्रम, निःशुल्क घर नक्सा, विद्यालयमा एउटै पोशाक, निजीविद्यालयको नयाँ वर्गीकरण र शुल्क निर्धारण, पूर्वाधार बिकासका केही नयाँ काम यही वर्ष शुरु भए।
मेयर उपमेयर, मेयर वडाध्यक्ष बीचको राजनीतिक कलह, आरोप प्रत्यारोप र आन्तरिक द्वन्द्वका बीच उप–महानगरपालिकाले शुरु गरेका कामको राम्रै चर्चा भयो। राजनीतिक उतार चढाव, एकले अर्कालाई असहयोग गरेको आरोपका बीच उप–महानगरपालिकाको गतिविधिले तीव्रता पाएको यो वर्ष सम्झन लायक रह्यो। यस हिसाबले भन्दा २०८०साल इटहरी उपमहानगरपालिकाको नयाँ कामको थालनीको वर्ष रह्यो भन्दा खासै अत्युक्ति नहोला ।
खोलापैनी सफाइ र टेङ्ग्रा कोरिडोर
टेङ्ग्रा सफाइ गर्न डोजर चल्यो। खोलाको क्षेत्राधिकार भित्र बनाइएका अवैध संरचना भत्काउन थालियो। छानबिन समितिले ७४ वटा घर भत्काउनुपर्ने प्रतिवेदन दिएको थियो । प्रतिवेदनलाई पास गरेको उप–महानगरले त्यसलाई कार्यान्वयनमा ल्यायो । शुक्रवार सम्म ७ किलोमिटर खोला सफा भएको छ। ४ वटा नक्सापास भएका सहित अन्य १४वटा पक्की घर भत्काइयो। भत्काउनुपर्ने २७ घर, घरधनीले तत्काल भत्काउने स्वघोषणा गरी सहिछाप गरेका छन्। दुई सय भन्दा बढी टहराहरू भत्किएका छन्। घर भत्काउने क्रम जारी छ ।
उप–महानगरपालिकाले डुबानको समस्या दीर्घकालीन समाधान गर्न टेङ्ग्रा कोरिडोरको अवधारणा अघि सारेको छ। विश्वबैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण हुने उप–महानगरले जनाएको छ।
तालतलैयाको मुहान देखी दक्षिणी सीमा क्षेत्र सम्म करिब ९ किलोमिटर लामो कोरिडोर निर्माण हुनेछ। कोरिडोर बनाउन साइड क्लियरेन्सको काम पनि अहिले हुँदैछ। पानी बग्ने खोलाको भागलाई ३५फिट, त्यसको दायाँबायाँ २०÷२० फिट कोरिडोरका लागि सफा गरिँदैछ।
खोला सफाइ र साइड क्लियरेन्सको काम सकिएपछि बिश्व बैङ्कको प्राविधिक टोलीले कोरिडोर क्षेत्रको निरीक्षण गर्ने प्रशासन महाशाखाका प्रमुख सञ्जीव खड्काले जानकारी दिनुभयो।
टेङ्ग्राखोलामा भएको कामले अन्यखोला पैनीमा सफाइको दबाब बढेको छ। डुबान रोक्न सबै खोला पैनी सफा गर्नुपर्ने आवाज उठ्न थालेको छ।
अस्पतालमा उपचार हुन थाल्यो
घर देखी घाट सम्म सुविधा दिने भन्दै उप–महानगरले निःशुल्क शव वहानको सेवा यही वर्षदेखि शुरु गर्यो । निःशुल्क एम्बुलेन्सको सुविधा दिएको छ।
इटहरी अस्पतालमा ओपिडी सेवा लिने बिरामीको चाप बढेको छ। एमबिबिएस डाक्टरहरू नियमित बस्न थालेसँगै बिरामीको चाप बढेको हो। अस्पतालमा अहिले दैनिक रूपमा हाड जोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञले बिरामीको उपचार गर्ने इटहरी अस्पतालका मे.सु गुन्जन त्रितालले जानकारी दिनुभयो।
परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ। विशेष गरी रगत, एक्स रे, भिडियो एक्स रे, ई सिजी गर्ने बिरामीहरूको संख्या बढेको छ। योसँगै नियमित रूपमा सुगर जाँच, भिटामिन डी, थाईराईड टेस्ट गर्न बिरामी अस्पताल पुग्छन्।
पोशाकको विवाद अदालत सम्म
यो वर्ष सर्वाधिक चर्चा पाएको विषय हो, विद्यालय खाजा कार्यक्रम र विद्यालयको पोशाक। सङ्घीय सरकारले दिने अनुदानमा उपमहानगरले रकम थप गरी कक्षा ६ सम्मकै बिद्यार्थीका लागि दिवा खाजा कार्यक्रम शुरु गर्यो। बटुकोमा आधा केरा र स्याउको फोटो देशभर भाइरल भयो। तीव्र विरोध आएपनि अहिले भने व्यवस्थित रहेको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख द्रोण दाहालले जानकारी दिनुभयो।
आगामी शैक्षिक सत्रदेखि अझै व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना रहेको दाहालले जानकारी दिनुभयो।
शिक्षामा उप–महानगरले नयाँ प्रयोग गर्यो । सबै(सामुदायिक तथा निजी) विद्यालयमा एउटै पोशाक लगाउनुपर्ने नियम लागु गर्यो । यो नियमको चर्को विरोध भयो । अझै भइरहेकै छ। यो विवाद अदालत सम्म पुग्यो । निजी विद्यालयहरूको संस्था प्याब्सनले उप–महानगरका बिरुद्ध मुद्दा दायर गर्यो। सर्वोच्चले अन्तरिम आदेश दिनु नपर्ने भनेपछि उप–महानगर निर्णय कार्यान्वयन गराउन लागी परेको छ। अदालतको आदेशपछि सबै विद्यालयलाई यस (बैशाख देखि शुरु हुने) शैक्षिक सत्रदेखि एउटै पोशाक लगाउन परिपत्र गरिसकेको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ।
उप–महानगरले निजी विद्यालयको नयाँ वर्गीकरण गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने जनाएको छ। सो अनुसार अहिले काम अन्तिम चरणमा पुगेको शिक्षा युवा तथा खेलकुद महाशाखाका तीर्थ गौतमले जानकारी दिनुभयो। उहाँले निजी विद्यालयहरूको अनुगमन गरी टेबुलेसनको काम भईरहेको जानकारी दिनुभयो। उहाँले अभिभावकबाट माथिल्लो श्रेणीको शुल्क लिएपनि सुविधा भने तल्लो श्रेणी बराबरको दिने गरेको आरोप निजी विद्यालयलाई लाग्ने गरेको छ। शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगरले २७ बुँदे सङ्कल्पपत्र यही वर्ष सार्वजनिक गरेको छ।
निःशुल्क घर नक्सा
इटहरीले ०८० सालदेखि इटहरीमा घर नक्सा बनाउन अनलाइन सिस्टम शुरु गर्यो । ईविपीएस सिस्टमले घर नक्सा शाखाको भिड स्वाट्टै हटाइदियो। फाइल बोकेर फाँट फाँट धाउनुपर्ने बाध्यता हट्यो ।
१ हजार स्वायर फिट सम्मका घरको नक्सा निःशुल्क बनाइदिन पनि यहीवर्षदेखि शुरु भयो । गरिब, सीमान्तकृत वर्ग र मध्यमवर्गका लागि आर्थिक बोझ केही कम भयो ।
यो वर्ष केही महत्वाकांक्षी योजना शुरु भए। झन्डै दुई दशक अघि निर्माण भएको बसपार्क अस्तव्यस्त भएपछि व्यवस्थित बसपार्क बनाउन शुरु भयो।
९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँको लागतमा १८महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको इन्जिनियर जीवन घिमिरेले जानकारी दिनुभयो। नगर विकास कोषको ७० प्रतिशत र उप–महानगरपालिकाको ३० प्रतिशत लगानी रहेको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो।
लामो समयदेखि निर्माण गर्ने भनेर चर्चामा रहेको आकाशे पुल र सभाहल निर्माणको ठेक्का लागेको छ। धरान रोड र गोल्डेन चौकमा २ वटा आकाशे पुल निर्माणको ठेक्का लागेको छ।
यस्तै आधुनिक सभाहल निर्माणको पनि ठेक्का लागेको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो। इटहरी ५ स्थित काव्यवाटिको जग्गामा ३ तले सुविधा सम्पन्न, ५ सय मानिस अट्ने सभाहल निर्माणको ठेक्का लागेको उहाँले जानकारी दिनुभयो। यी दुवै महत्वकाक्षी योजना यो वर्ष ठेक्का लागेपनि निर्माण शुरु भने २०८१ मा हुनेछ।
निर्माण गरिने पूर्वाधारको गुणस्तर मापन गर्न उप–महानगरले प्राविधिक ल्याब सञ्चालनमा ल्याएको छ। डन्डी, सिमेन्ट,इटा,गिटी बालुवाको गुणस्तर मापन गर्न प्राविधिक ल्याब स्थापित भएको छ। बाह्यपालिका तथा ठुला आयोजनाको निर्माण सामाग्रीको गुणस्तर मापन गर्न इटहरी ल्याउने गरिएको छ। यसबाट इटहरीको राजश्वपनि राम्रै वृद्धि भइरहेको छ।
सेवा प्रवाह र प्रशासन सुधार
पालिकाले प्रदान गर्ने सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधारको काम थाल्यो । यसका लागि मुख्य रूपमा प्रशासनिक सुधार गरिएको उप–महानगरको दाबी छ।
कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी, समयको व्यवस्थापन, सिसिक्यामराको मोनिटरिङ, नागरिक सहायताकक्ष जस्ता आधारभूतपक्षमा सुधार गरिएको प्रशासन महाशाखा प्रमुख सञ्जीव खड्काले जानकारी दिनुभयो।
स्पष्टीकरण सोधेर मौका दिँदापनि नसुध्रिएका ५ जना कर्मचारीको करार सम्झौता रद्द गरी निष्काशन गरिएको उप–महानगरले जनाएको छ। छड्के चेकजाँच, फाँट सरुवाले पनि कर्मचारीलाई नियममा बस्न बाध्य बनाएको छ। यो वर्ष फाँट सरुवाले कर्मचारी वृत्तमा हङ्गामा नै सृजना गरेको थियो। उपमेयर र केही वडा अध्यक्षहरूले विरोध जनाए तर पछि त्यो विषय आफै सेलाएर गयो। नागरिकलाई सहज ढंगबाट सेवादिन नागरिक सहायता कक्ष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिनुभयो।
सेवाग्राहीको निवेदन लेखिदिने, नबुझेको कुरा बुझाइदिने, अशक्त भए फाइल सम्बन्धित शाखामा पुर्याएर काम गरिदिने प्रमुख प्रशासकीय अधिकृत मेहताले बताउनुभयो।
उपमहानगरले सहायता कक्षमा निःशुल्क चिया कफी खुवाउने गरेको छ। सेवालिन आएका सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी पिउन पाउँछन् ।
इटहरी उप–महानगरपालिकाले सिसिटिभी मोनिटरिङ गर्न डिजिटल कक्ष स्थापना गरेको छ। उप–महानगर र सो अन्तर्गतका सबै कार्यलयहरुमा सिसिटिभी क्यामरा जडान शुरु भएको छ। डिजिटल प्रविधिको प्रयोगले सेवाप्रवाहको गुणस्तरका थप सुधार हुने तथा सुशासन कायम गर्न मद्दत पुग्ने बिश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताउनुभयो।