काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले एउटै कार्यक्रममा सहभागी भएका छन् । गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउँदा प्रधानमन्त्री दाहालले मुख्य कारणको रुपमा तत्कालिन अर्थमन्त्री महतलाई नै दोषी देखाएका थिए ।

महतले आफूसँग समन्वय नगरी एकलौटी ढंगले काम गरेको प्रधानमन्त्री दाहालको सार्वजनिक आरोप थियो । तर, महतले भने प्रधानमन्त्री दाहालको उक्त दाबीमा कुनै सत्यता नभएको स्पष्ट पारेका थिए । आज भने प्रधानमन्त्री दाहाल र निवर्तमान अर्थमन्त्री महत एउटै मञ्चमा देखिएका छन् ।

राष्ट्रिय योजना आयोगद्वारा आयोजित राष्ट्रिय विकास परिषद् बैठकको उद्घाटन समारोहमा नेपाली कांग्रेसको तर्फबाट महत अतिथिको रुपमा निम्त्याईएका थिए । प्रधानमन्त्री दाहाल भने कार्यक्रमको प्रमुख अतिथि । एमालेबाट पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा सहभगाी थिए ।

यस्तै, रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि कार्यक्रममा सहभागी थिए ।