मोरङ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका हुन् । 

युवा सहभागिता विना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले युवा लक्षित उद्यमशीलता र नवप्रवर्तन तथा मानव संशाधान विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जनामा विशेष जोड दिनुपर्ने बताए ।‘युवा जोश, जाँगरयुक्त ज्ञान, सीप र क्षमतालाई देशले नियालिरहेको छ र योगदान खोजिरहेको छ,’ प्रधानमन्त्रीले भने, ‘कूल जनसंख्याको करिब ४० प्रतिशत युवा जनसाङख्यिक लाभ नेपालले लिन सक्नुपर्छ र हामीले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्नैपर्छ ।’

शैक्षिक क्षेत्रको उन्नयनमा आमूल रुपान्तरण गर्न नसक्नु दुःखद् विषय भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले शैक्षिक प्रणाली र यसले सिर्जना गरेको शैक्षिक बेरोजगारीको अवस्थालाई परिवर्तन गर्न जरुरी रहेको  बताए ।

लामो समयदेखि विद्यालय तथा विश्वविद्यालय तहमा सिकाउनेभन्दा रटाउने शिक्षा पद्धति चलिरहेको अनुभूति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्राविधिक ज्ञान र सीपलाई विशेष जोड दिन निर्देशन दिएका छन ।

पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार आठ सय ५६ विद्यार्थी दीक्षित भएका छन् ।

समारोहमा कला सङ्कायमा स्नातक तहमा ८२ र स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरियो । कानुन सङ्कायमा स्नातकतर्फ दुई सय ६४ र स्नातकोत्तर एक सय सात, शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा छ सय ३६ र स्नातकोत्तरतर्फ एक सय ६७, व्यवस्थापन सङ्कायमा स्नातक तहतर्फ एक हजार पाँच सय ४२, स्नातकोत्तरतर्फ सात सय ६० र एमफिल तहका तीन जनालाई उपाधि प्रदान गरिएको हो ।

विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि सङ्काय स्नातकतर्फ छ सय ३४, स्नाकोत्तरतर्फ ५२ जना विद्यार्थीलाई दीक्षित गरियो । साथै इञ्जिनियरिङ सङ्काय स्नातकतर्फ आठ सय ९२, स्नातकोत्तरतर्फ एक सय आठ जनालाई दीक्षित गरियो ।

चिकित्साशास्त्र सङ्काय स्नातकतर्फ दुई हजार चार सय ६३, स्नातकोत्तर तहमा १५ जना गरी जम्मा दुई हजार चार सय ७८ जनालाई उपाधि प्रदान गरियो ।