इलाम / इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन योङहाङ लिम्बूसँगै १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । लिम्बूसँगै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ लगायत १६ जनाको धरौटी जफत भएको हो ।

इलाम–२ मा विजयी भएका एमालेका सुहाङ नेम्बाङ, निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्का र तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको हो ।

यस्तै बझाङ–१ को प्रदेश सभा उपचुनावमा पनि नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह सहित ८ जना उम्मेदवारको धरौटी जफत भएको छ । आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ अनुसार प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्छ ।