भोजपुर / भोजपुर–विराटनगर हवाई उडान सेवा ६ वर्षपछि पुनः सुचारु भएको छ । वि.स २०७४ बाट प्राविधिक लगायत विभिन्न कारणले बन्द रहेको उडान हाल उक्त समस्याहरू समाधान भएसँगै पुनः उडान सुचारु भएको हो । 

नेपाल वायु सेवा निगमको टयुनेटर विमानले अव हप्तामा २ दिन शनिवार र बिहीबार भोजपुर–विराटनगर उडान गर्ने नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काले बताउनुभयो । उहाँका अनुसार भोजपुर–विराटनगर हप्तामा २ पटक उडान हुन्छ भने हवाई भाडा रु ४ हजार २९ निर्धारण गरिएको छ । 

लामो समयदेखि उडान बन्द हुँदा भोजपुर–विराटनगर आवतजावत गर्ने बिरामी,अशक्त तथा समस्यामा परेका यात्रुहरूलाई सवारी साधनबाट यात्रा गर्न बाध्यता थियो । अब सिधा हवाई सेवा सुचारु भएपछि यात्रुहरूलाई छिटो यात्रा गर्न सहज हुने भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले बताउनुभयो ।

उडान सेवाको उद्घाटन गर्दै प्रमुख आलेले आगामी दिनमा जहाज उडानमा निरन्तरता र सहजता प्रदान गर्न नेपाल वायुसेवा निगम र क्रु मेम्बरलाई आग्रह समेत गर्नुभयो ।  भोजपुर–विराटनगर हवाई सेवा पुनः सुचारु भएसँगै जिल्लावासीहरू खुसी भएका छन् ।