इटहरी/ नेकपा एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की कोसी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो।

कार्कीले संविधानको धारा १६८को उपधारा ५ बमोजिम आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गर्नुभएको थियो। त्यही अनुसार खापुङले कार्कीको पक्षमा ५२ सांसदको सनाखत भईसकेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गरिएको बताउनुभयो।

उहाँले प्रदेश सभामा रहेका ९३जना सांसदमध्ये ५२जना अर्थात् बहुमत सदस्यको सनाखत भईसकेकाले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिनुभएको छ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बुधबार साँझ सरकार गठनको आह्वान गर्नुभएको थियो।

प्रदेश प्रमुखको आव्हानपछि नेकपा एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्नुभएको थियो।

यसअघि कार्की २०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको निर्वाचनमा कुनैपनि दलले प्रदेशमा बहुमत पाउन नसक्दा पुस २४ मा नेकपा माओवादी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा लगायतका दलहरूको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो। 

यसैबीच मुख्यमन्त्रीका लागि कार्कीलाई जनता समाजवादी पार्टी नेपालले पनि समर्थन गरेको छ। कोसीमा जसपा नेपालका एक सांसद निर्मला लिम्बू हुनुहुन्छ।

जसपा नेपालले समर्थन गरेसँगै कार्कीलाई समर्थन गर्ने सांसदको संख्या ५३पुगेको छ ।

-खबरहव