इटहरी / इटहरीमा गुडिरहेको गाडीबाट अवैधरुपमा पार्किङ शुल्क असुल्ने व्यक्तिहरुले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।

विराट टेलिभिजन र टिभी टुडेमा रिपोर्टिङ गर्ने मिलन अधिकारीमाथि इटहरीको पुर्व लाइनमा दुर्व्यवहार गरेका हुन् ।

पार्किङ शुल्क लिइरहेका व्यक्ति र स्थानीयबिच चलिरहेको विवादको भिडियो संकलन गर्ने क्रममा धम्की दिँदै आक्रमण प्रयास गरेको पीडित अधिकारीले बताएका छन् । उनले स्थानीयले जोगाएका कारण नै आफूमाथि आक्रमण भने हुन नपाएको बताए ।

‘म पुग्दा त्यहाँ गाडी धनी र पैसा असुल्नेहरुबिच विवाद भएर प्रहरीले दुवैलाई लगिसकेको थियो । त्यसपछि स्थानीय र पैसा असुल्नेहरुबिच विवाद चलिरहेको थियो,’ उनले भने, ‘मोबाइलले भिडियो खिँच्दै थिएँ, तँ को होस् किन भिडियो खिचिस् ? भन्दै मोबाइल खोस्न खोजियो ।’ 

उनले आफू सञ्चारकर्मी भएको बताउँदासमेत ‘तलाई धुलाई हान्छु’ भन्दै मोबाइल फोन खोस्ने प्रयास गरिएको बताए । आफूलाई दुर्व्यवहार भएको विषयमा इलाका प्रहरी कार्यालय र इटहरी उपमहानगरपालिकामा समेत जानकारी गराएको र एक जनालाई प्रहरीमा नियन्त्रणमा समेत लिएको बताए ।IMG_20240509_211049

पार्किङस्थल नै नभएको पालिकामा पार्किङ शुल्कको ठेक्का

इटहरी उपमहानगरपालिकाले वर्षौदेखि इटहरीमा पार्किङको ठेक्का लगाउने गरेको छ । तर उपमहानगरपालिकाले आजसम्म पार्किङस्थल भने उपलब्ध गराएको छैन ।

तोकिएको पार्किङस्थलमा पार्क गरेर राखेका गाडीहरुबाट मात्र पार्किङ शुल्क लिन पाउने व्यवस्था ऐनमा छ । तर ठेक्का लिनेहरुले भने गुडिरहेको गाडी रोकेर जबरजस्ती शुल्क उठाउने गरेका छन् । पछिल्लो केही महिनायता त भित्रि बाटोहरुमा बसेरसमेत शुल्क उठाउने गरेका छन् ।

अवैध तवरले असुलिरहेको शुल्कको विरोध गर्दा उल्टै धाकधम्की खेप्नु परेको व्यवशायीहरु र सर्वसाधारणको गुनासो छ ।