भोजपुर / भोजपुर नगरपालिकालाई बिहीबार पुर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ । स्थानीय श्रोतको स्वामित्व र सहभागिता पुर्ण खोप पालिका हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ नगर प्रमुख कैलाश कुमार आलेले नगरपालिकालाई औपचारिक कार्यक्रमका बिचमा पुर्ण खोपयुक्त  नगरपालिका घोषणा गर्नुभएको हो । भोजपुर नगरपालिकाका वडा नं १ देखी १२ वटै वडाहरूमा पुर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिमका सम्पूर्ण प्रक्रियाहरू पुरा गरी गत चैत्र ३० गते सम्ममा १६ देखी २३ महिना सम्मका सबै बालबालिकाले १५ महिनाको उमेर भित्र पुर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा बिहीबार भोजपुर नगरपालिकालाई पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ढुङ्गेलले बताउनुभयो ।  सोहि अवशरमा पालिका भरीका स्वास्थ्य संस्थाका प्रमुख तथा स्वयंमसेविकाहरुलाई सम्मान पत्रद्धारा सम्मान समेत गरीएको थियो । 

पालिकालाई पुर्ण खोप घोषणा गर्दै नगर प्रमुख कैलाश कुमार आलेले स्वास्थ्य क्षेत्रमा नगरले गरेको यो सफल कार्यक्रम भएको उद्घोष गर्नुभएको छ । उहाँले भन्नुभयो, “नगरपालिकाले पुर्ण खोप घोषणाका लागी आवश्यक सम्पूर्ण मापदण्ड पुरा गरेको छ र आगामी दिनमा उक्त मापदण्डहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत गरिएको छ । यसमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गर्दछौँ ।”

त्यस्तै नगर उपप्रमुख निर्मला शेर्पाले नगरपालिकाले खोप सँगै अन्य स्वास्थ्य सेवामा ध्यान दिन पालिका स्थित सबै स्वास्थ्यकर्मीहरूलाई अनुरोध गर्नुभएको छ । 

पुर्ण खोप घोषणा कार्यक्रममा नगरपालिकाका प्रमुख कैलाश कुमार आले, उपप्रमुख निर्मला शेर्पा, स्वास्थ्य कार्यालय भोजपुरका राजु श्रेष्ठ, नागरीक समाज भोजपुरका संयोजक पर्शुराम तिवारी, उद्योग बाणिज्य संघका प्रविण सुवाल, पालिका स्थित १२ वटै वडाका वडाध्यक्ष तथा सम्पूर्ण जनप्रतिनिधि, पालिका स्थित शाखाका प्रमुख,  स्वास्थ्य स्वयंमसेविका, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।