काठमाडौं / नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महतले सत्तापक्षले संसदीय इतिहासमै अनौठो नजीर स्थापित गरेको टिप्पणी गरेका छन् ।

आज (सोमबार) प्रधानमन्त्रीले विश्वासको मत लिएपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्षले संसद्मा आफ्ना कुराहरु राखेर विरोध गरिरहेको अवस्थामा यसअघि कहिले पनि विश्वासको मत नलिइएको बताए । उनले यसलाई अनौठो नजीरको संज्ञा दिए ।

‘प्रधानमन्त्रीले विश्वासको मत आजै लिनुपर्ने को कारण के ? उहाँले आजै विश्वासको मत लिन निर्णय गर्नुभयो । विपक्षी दलहरु वेलमा आएको अवस्थामा, संसद्मा आफ्ना कुराहरु राखेर विरोध गरिरहेको अवस्थामा कहिले पनि विश्वासको मत लिएको अवस्था छैन । संसदीय इतिहासमै अनौठो नजीर उहाँहरुले स्थापित गर्नुभएको छ,’– कांग्रेस प्रवक्ता महतले भने ।

सत्तारुढ दलहरु नै संविधान र व्यवस्थाको खिलापमा लागेको कांग्रेस प्रवक्ता महतको आरोप छ । उनले सत्तापक्षले यस प्रकारको व्यवहारले सहकारी प्रकरणमा रवि लामिछानेमात्रै नभएर सत्तापक्षका धेरै नेताहरुको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरे । नेता महतले गृहमन्त्री लामिछानेको हिजो संसद्मा दिएको अभिव्यक्तिबाट उनी सहकारी ठगी प्रकरणमा संलग्न रहेको पुष्टि गरेको बताए ।