काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध सडक आन्दोलन गर्ने भएको छ ।

गृहमन्त्री रवि लामिछाने पनि ठगीमा मुछिएकाले पदमा बस्न नमिल्ने ठहर गर्दै कांग्रेसले सडक आन्दोलन गर्न लागेको हो । साथै देशभरका सहकारी पीडितलाई सङ्गठित गर्ने रणनीति पनि कांग्रेसले तय गरेको छ । कांग्रेसले सडक संघर्ष अन्तर्गत प्रथम चरणमा शुक्रवार भृकुटीमण्डपबाट सुरु गर्ने र सहकारी पीडित बढी भएका सहरहरू पोखरा, चितवन, रुपन्देही हुँदै देशभर आन्दोलन गर्ने कार्यक्रम तय भएका छन् ।

कांग्रेसले नेविसंघ, तरुण दल, महिला सङ्घलगायतका भ्रातृ तथा भगिनी सङ्गठनलाई प्रदर्शनमा उतार्ने निर्णय गरेको हो । केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले काठमाडौं केन्द्रित मात्रै नभई पार्टीले स्थानीय तहसम्म आन्दोलन गर्ने तयारी गरिरहेको बताए ।

गृहमन्त्री लामिछानेले संसदमा अशिष्ट, हिंस्रक र अपमानजनक, व्यक्तिगत रूपमा आपत्तिजनक शब्द प्रयोग गरेकाले लामिछाने उक्त पदमा रहन नहुने कांग्रेसको ठहर छ । साथै बैठकले गृहमन्त्री लामिछानेसमेत जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउने आफ्नो अडान नछोड्ने भएको छ ।