मोरङ / नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको सुन्दरहरैँचा नगरपालिका अन्तर्गत चन्द्रनगर–पूर्वाञ्चल विश्वविद्यालय हुँदै गोठगाउँ-महेश्वर सुब्बा मार्ग लाटिझोडा सडकखण्डको बिहीबार शिलान्यास गरेका छन्।
सो सडक खण्डको शिलान्यास गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले बाटाघाटाको निमार्णकार्य समयमै सम्पन्न र गुणस्तरीय काम हुनुपर्ने बताउनुभयो। उहाँले काम सक्ने बित्तिकै भत्किने स्थिति नबनोस् र कन्स्ट्रक्सन कम्पनीलाई काम समयमै सम्पन्न गर्न समेत निर्देशन दिनुभयो।
![](/uploads/advertise/janata school_1720267096.jpg)
सडक आयोजनाका लागि मकवानपुरको लामा–बानियाँ जे.भी. कन्स्ट्रक्सनकाे ४५ करोड ८५ लाख २३ हजार रुपैयाँमा नगरपालिकासँग ठेक्का सम्झौता भइसकेको छ। यस आयोजना सडकखण्ड चार किलोमिटर सात सय सैँतिस मिटर र महेश्वर सुब्बा मार्ग–लाटीझोडा सडकखण्ड पाँच किलोमिटर पचहत्तर मिटर सडक निर्माण हुने उल्लेख गरिएको छ। जसमा डबल लेनको बाटो, दुवै तर्फ सडक बत्ती, दुवैतर्फ फुटपाथ, दुवै तर्फ पक्की ड्रेन, ८ वटा पाइप कल्भर्ट र १४ वटा बक्स कल्भर्टका साथै सम्पूर्ण ट्राफिक साइन सिग्नलहरू सहितको गुणस्तरीय कालोपत्रे सडक निर्माण हुने बताइएको छ। सो आयोजना २०८२ जेठ मसान्त सम्पन्न गर्ने लक्ष्य रहेको छ।
सुन्दरहरैंचा नगरपालिका क्षेत्रका विभिन्न सडकको समस्याको बारेका सङ्घीय सरकार र प्रदेश सरकारसँग छलफल गरेर बजेट माग्ने र नगरलाई सुन्दर सफा समृद्ध बनाउने सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरगाईंले बताउनुभयो।