इटहरी / क्यानभास साहित्य समाज तरहराको आयोजनामा ‘क्यानभासमा गगन’ कार्यक्रमको आयोजना गरिएको छ । कवि गगन योक्पाङ्देनद्धारा लिखित ‘केवाफुङ्को गीत’ कविता सङ्ग्रहमाथि विमर्श कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा कवि योक्पाङ्देनले सङ्ग्रहभित्रबाट एक दर्जन कविता वाचन गरे । उनले ‘आमाप्रति’, ‘उपहार’, ‘साइँली सोल्टीनीको बैँस’, ‘छोरीको चकचक’, ‘भरियाको कथा’, ‘छिमेकीलाई’, ‘बाटोको आयु’, ‘एउटा घरको दिनचर्या’लगायतका कविता वाचन गरे ।

कार्यक्रम सुरु हुनुपूर्व कार्यक्रमका प्रमुख अतिथि, नेपाली वाङ्मय क्षेत्रका सुप्रसिद्ध कवि जसराज किरातीले ‘केवाफुङ्को गीत’बाट ‘छोरीको चकचक’ कविता वाचन गर्दै उद्घाटन गरे । उक्त कविताले पहिचानको आवाज बोलेको किरातीको तर्क थियो । उनले पछिल्लो समय आम मानिस राजनीतिको मात्रै कुरा गर्ने तर त्यहाँबाट केही प्राप्ति गर्न नसकिरहेकोसमेत बताए । 

कविता सङ्ग्रहमाथि लेखक तथा उपप्राध्यापक राजेश विद्रोहीले टिप्पणी राखेका थिए । कार्यक्रमका सभाध्यक्ष प्रसिद्ध कवि मनु मञ्जिलले कविले प्रत्येक वाक्यमा नवीन कुरा दिनुपर्ने बताए । 

क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले आफूहरूले इटहरी क्षेत्रमा रहेर विभिन्न समयमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको र आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताए ।