इटहरी / इटहरी उप महानगरपालिकाले सडकको धुलो पखाल्न  ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोगमा ल्याएको छ। पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ । 

सडकको किनारामा रोपिएका विरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नसमेत यसको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए । 

उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवा पखाल्ने काम गर्छ।’  उपमहानगरले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि यो साधन खरिद गरेको मेयर पौडेलले बताए । 

इटहरी उपमहानगरले ६५ लाखमा ‘रोड वासर कम स्प्रिङकलर खरिद गरेको हो । मेयर पौडेलले रोड वासर कम स्प्रिङकलरले सहरलाई सफा बनाउन र सुन्दर बनाउन सहयोग गर्ने बताए । उनले भने,‘ उपमहानगरपालिकाभित्र आवश्यकताअनुसार समय तालिका बनाएर प्रयोगमा ल्याउँछौँ ।’ 

प्राविधिकहरूका अनुसार यसले आगलागीको वेला आगो निभाउन पनि सहयोग गर्नेछ ।