इटहरी/ व्यापारिक सहरको छवि बनाइरहेको इटहरी उपमहानगरपालिकाको ग्रामीण क्षेत्रमा पर्छ वडा नम्बर १६। तत्कालीन पकली गा.वि.सका ३ र एकम्बा गा.विसका ३ वटा वडा मिलेर हालको वडा नम्बर १६बनेको छ। 

पूर्व पश्चिम राजमार्गले छोएका केही क्षेत्र सहरको रुपमा विकास भएको छ भने अधिकांश क्षेत्र ग्रामीण क्षेत्रको रुपमा छ। ग्रामीण क्षेत्र भएकाले सडक पूर्वाधार र कृषिका लागि सिचाई स्थानीयको पहिलो माग थियो र अझै पनि यही माग कायमै छ। 

स्थानीयबासीको यही माग पुरा गराउन आफू दिनरात काममा खटिरहेको वडा न. १६का अध्यक्ष तेज नारायण चौधरीले बताउनुभयो। वडाका सबै ठाउँमा ग्राभेल तथा कालोपत्रे सडक पुर्‍याउनु र कृषकका लागि सिंचाई उपलब्ध गराउनु आफ्नो पहिलो प्राथमिकता भएको अध्यक्ष तेजनारायण चौधरीले सुनाउनुभयो।

हिलाम्मे र धुलाम्मे सडकलाई ग्राभेल अनि कालोपत्रे गर्ने उहाँले जनतासँग वाचा गर्नुभएको थियो। कृषकलाई बाली लगाउन सिंचाई पुर्‍याउने उहाँले गरेको अर्को वाचा हो । यी वाचाहरू पुरा गराउन अध्यक्ष चौधरी योजनाबद्ध रुपमा काम गर्दै हुनुहुन्छ। 

सडक पूर्वाधार 

भौगोलिक हिसाबले पनि यस क्षेत्रमा सडक पूर्वाधार राम्रो छैन । गाउँ गाउँमा बाटो पुर्‍याउनुपर्नेछ। भएका बाटोहरू पनि हिलाम्मे र धुलाम्मे हुन्छन्। यी सडकहरूलाई ड्रेन, ग्राभेल र कालोपत्रे गर्दै सुविधा सम्पन्न बनाउनुपर्नेछ। 

सडक पूर्वाधार नै वडा नम्बर १६ का जनताको प्रमुख माग रहेको अध्यक्ष चौधरीले बताउनुभयो। जनताको माग पुरा गराउन उहाँले वडा, नगर र बहुबर्षिय योजनामा समेटेर सडक बनाउने काम गर्दै आएको जानकारी दिनुभयो। 

उहाँ निर्वाचित भएपछि हाल सम्म साढे ३ किलोमिटर सडक कालोपत्रे भएको उहाँले जानकारी दिनुभयो। यस्तै ३ किलोमिटर जति बाटो ग्राभेल भएको छ। पछिल्लो समय सजिलो र राम्रो देखिने भएकाले माग बढेको ब्लक टाली लगाउने काम पनि यहाँ भएका छन्। स्थानीयको माग अनुसार २ किलोमिटर सडकमा ब्लक टाली लगाएर सडकलाई हिलो धुलो मुक्त बनाइएको छ ।

अझै पनि धेरै ठाउँमा सडकलाई स्तर उन्नति गर्दै कालोपत्रे गर्नुपर्ने उहाँले बताउनुभयो। यसका लागि चालु वर्ष र आगामी वर्षका लागि पाइप लाइनमा योजनालाई राखिएको उहाँले सुनाउनुभयो।

सडक पुगेपछि मात्रै अन्य पूर्वाधार पुग्न सक्ने भएकाले वडाका सबै गाउँ ठाउँमा सडक सञ्जाल पुर्‍याउने लक्ष्य अनुसार काम गरिरहेको अध्यक्ष चौधरीले बताउनुभयो। 

कृषकलाई सिचाई उपलब्ध  

वडाका अधिकांश जनता खेती गर्छन् । कृषकहरूले मौसमी र बेमौसमी तरकारी बाली लगाउँछन्। खेती तथा तरकारी बालीका लागि नियमित रुपमा सिंचाई आवश्यक हुन्छ। नदि तथा नहरले भेट्ने ठाउँमा त सिचाइको सुविधा हुन्छ तर उच्च ठाउँमा सिचाइको सुविधा छैन। 

कृषकका हरेक दुःख कष्टसँगै भोगेका तेजनारायणलाई सिंचाई पुर्‍याउनु ठुलो चुनौती छ। सिंचाइका लागि ठुलो लगानीका योजना आवश्यक थियो । तर वडा र नगरसँग पर्याप्त श्रोत भएन । त्यसपछि उहाँले माथिल्लो सरकारको सहयोग माग्नुभयो। प्रदेश सरकारलाई बिश्वास दिलाएर उहाँले करिब ७० लाख रुपैँया बराबरको बजेटको भूमिगत सिचाई योजना ल्याउन सफल हुनुभयो।

IMG_5881नियमित खेती लगाउने र बेमौसमी तरकारी बाली लगाउने कृषकका लागि भूमिगत सिचाई योजना सञ्चालनमा आयो। डिप बोरिङमार्फत अन्डरग्राउन्ड पाइप बिच्छ्याएर उच्च जमिनमा पनि सिचाई पुर्‍याउन अध्यक्ष चौधरी सफल हुनुभयो। यस योजना अनुसार करिब ६० देखी ७० बिगाहा जमिनमा सिंचाई सुविधा पुगेको छ । नियमित रूपमा पानी उपलब्ध भएपछि किसानले सिजन अनुसार ३ बाली लगाउने गरेका छन्। 

धान, गहुँ, मकै,तोरीलगायतका अन्नबाली ३ बाली लगाउँछन् । तर अहिले कृषकहरूले मौसमी र बेमौसमी तरकारी बाली पनि लगाउँछन्। पानी नियमित भएपछि बाली लगाउन सजिलो भएको स्थानीय कृषक रमेश चौधरीले जानकारी दिनुभयो। नियमित रूपमा तरकारी खेती गर्दै आउनुभएका उहाँ जस्ता अन्य २५ देखी ३० जना कृषकले बेमौसमी तरकारी खेती लगाउने गरेका छन् । 

सिजन अनुसारका फर्सी, भिण्डी,बैगुन, काँक्रा, बोडी, घिरौँला, करेलालगायतका तरकारी खेती हुन्छ। यहाँ उत्पादन भएका तरकारीहरू इटहरीका स्थानीय बजार देखी बिराटनगरका मुख्य तथा सहायक बजार सम्म पुग्ने गरेको छ। 

वडा सदस्य हुँदै वडा अध्यक्ष  

अघिल्लो कार्यकालमा वडा सदस्य रहेका तेजनारायण चौधरी यसपटक भने वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो। तत्कालीन वडा अध्यक्षलाई सफल बनाउन उहाँले पूर्ण रूपमा सहयोग गर्नुभयो। वडा सदस्य हुँदा गाउँ गाउँमा पुगेर जनताको काम गर्नुभएका तेजनारायणले दोश्रो पटकको निर्वाचनमा अध्यक्ष उठ्ने अवसर पाउनुभयो। अघिल्लो कार्यकालका आफ्नै वडा अध्यक्षलाई तेजनारायणले पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित हुनुभयो।

इटहरीका थारु अगुवा नेताको छवि बनाएका तेजनारायण चौधरीसँग उहाँले गरेका कामको विषयमा गरिएको छोटो कुराकानी :- 

वडा नम्बर १६ कस्तो वडा हो ? 

१६ नम्बर वडा साबिकको पकली गा.विसको ३ वडा र एकम्बा गाविसका ३ वटा वडा गरी ६ वटा वडा मिलेर बनेको वडा हो । भौगोलिक हिसाबले केही सहरी क्षेत्रमा पर्छ भने धेरै जसो ग्रामीण क्षेत्र पर्छ । 

tej narayan chaudharyसाबिक गाविस भएको कारणले गर्दा र ग्रामीण क्षेत्र भएकोले पूर्वाधार हिसाबले कमजोर छ । तर अहिले उपमहानगरपालिका भएपछि विकास हुन थालेको छ । तर अझै पनि पूर्वाधार विकास देखी मानवीय विकास सम्मका कामहरू गर्नुपर्ने छ । 

यस वडाको प्राथमिकता के के हुन ? 

हुन त म अघिल्लो कार्यकालमा पनि वडा सदस्य भएर काम गरेको हो । अहिले वडा अध्यक्षको रूपमा कार्यरत छु । मैले अघि पनि भने यो वडा विगतमा गाविसको वडा भएकोले पूर्वाधारको हिसाबले कमजोर थियो । यहाँका अधिकांश मानिसहरूले हामीसँग त्यो बेला पनि र अहिले पनि यहाँका बाटोघाटो, सिंचाइको नै माग गर्नुहुन्छ । सडक कालोपत्रे देखी लिएर बाली लगाउन सिंचाइको व्यवस्था गरिदिन माग गर्नुहुन्छ । यस हिसाबले पनि यहाँको पहिलो प्राथमिकता सडक पूर्वाधार र कृषकका लागि सिंचाइको प्रबन्ध नै हो । यसपछि शिक्षा, स्वास्थ्यलगायत अन्य पूर्वाधारहरू छन्।  

अहिले सम्म आउँदा भएका मध्ये राम्रा काम के के हुन ? 

राम्रा कामको सन्दर्भमा कुरा गर्दा हामीले धेरै राम्रा काम गरेका छौँ । पूर्वाधारको क्षेत्रमा धेरै वटा बाटोहरू हामीले बनाएका छौँ । वडा, नगर र बहुबर्षिय योजना अन्तर्गतका बाटोहरू निर्माण सम्पन्न भएका छन्। धेरै बाटोहरू कालोपत्रे भएका छन् । हिजो हिँड्नै नसक्ने बाटो अहिले सररर गाडी गुड्ने कालोपत्रे भएको छ। 

सयौँ वर्ष देखी नबनेको टिकुलिया टोलको बाटो परापूर्व काल देखी चल्दै आएको तर अत्यन्तै जीर्ण थियो । त्यो बाटो बनाउने भनेर मैले जनतासँग प्रतिबद्धता पनि गरेको थिएँ । सो बाटो अहिले कालोपत्रे भएको छ । मैले मेरो वाचा पुरा गरेको छु । 

अन्य विकास निर्माण र सेवा प्रवाहको विषयमा वडाले गर्ने वडाको पहलमा र नसक्ने कामहरू नगर र प्रदेश सरकारसँग समन्वय गरेर सम्पन्न भएका छन् । 

ग्रामीण क्षेत्र भन्नुभयो, सिंचाइका लागि के के काम भएका छन् ? 

यहाँका किसानका लागि हामीले धेरै ठाउँमा डिप बोरिङ गरेर उच्च ठाउँमा सिचाई पु¥याउने काम गरेका छौँ । हामीले प्रदेश सरकारको सहयोग तथा समन्वयमा करिब ७० लाख बजेटको वैज्ञानिक सिचाई योजना सम्पन्न गरेका छौँ । 

उच्च भूभागमा अन्डरग्राउन्ड पाइप विच्छ्याएर सिचाई गर्न मिल्ने बनाइएको छ। यसबाट करिब ६० देखी ७० बिगाहा जग्गामा सिंचाइको सुविधा पुगेको छ । यसबाट धेरै कृषकहरू लाभान्वित भएका छन् । यसबाट खेती लगाउन सहज मात्रै भएको छैन । उत्पादन पनि बढेको छ । 

हाम्रा कृषकहरूले उत्पादन गरेका तरकारीहरू इटहरीका बजार देखी लिएर विराटनगरको बजार सम्म पुग्ने गरेको छ । यसबाट धेरै कृषकहरूलाई फाइदा पुगेको छ । आगामी दिनमा पनि सिचाई नपुगेका क्षेत्रमा सिचाई पुर्‍याउने लक्ष्य छ। 

शिक्षा र खेलकुदको क्षेत्रमा के के काम भएका छन् ? 

हामीसँग २ सामुदायिक विद्यालय छन् भने एक बाल विकास केन्द्र छ । विद्यालयहरूको भौतिक पूर्वाधार अत्यन्तै जीर्ण छ । हामी आएपछि सरस्वती जब्दी मा.बिमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत एउटा भवन बनाउन सक्यौँ । त्यसमा अहिले बजेट हालेर वैज्ञानिक हिसाबले पढ्न पाउन भनेर स्मार्ट बोर्ड लगाउने काम भएको छ । अहिले त्यो चालु भईसकेको छ । कतिपय स्कुलमा शिक्षकको अभाव थियो । त्यसमा वडाबाटै बजेट हालेर भएर पनि शिक्षक अभाव भएको विद्यालयमा शिक्षक व्यवस्था गरेका छौँ । 

स्कुलहरूमा चाहिएको विभिन्न शैक्षिक सामाग्रीहरू खरिद गरी उपलब्ध गराएका छौँ । योसँगै नियमित रूपमा अनुगमन र निरीक्षण गर्ने व्यवस्था मिलाएका छौँ । विद्यालयका विद्यार्थीसँग अन्तरकृया गरी शिक्षकले पढाउने तरिका, अवस्थाका बारेमा जानकारी लिने काम गरेका छौँ । यस्तै अभिभावकसँग पनि अन्तरकृया गर्दै उहाँहरूको कुरा सुन्ने र वडाको शैक्षिक गुणस्तर सुधारका लागि गर्नुपर्ने कामको बारेमा सचेतना जगाउने काम गरेका छौँ । 

यता, खेलकुदको क्षेत्रमा भने पर्याप्त बजेट नहुँदा सोचे अनुसार काम गर्न सकेको छैन । खेल क्षेत्रमा अन्य भन्दा कम बजेट भएको महसुस भएको छ । आगामी दिनमा खेल क्षेत्रमा बजेट वृद्धि गर्दै राम्रा काम गर्ने योजना बनाएका छौँ ।