इटहरी/ इटहरीस्थित सगुन कृषि सहकारी संस्थाले सञ्चालन गरेको कृषि यन्त्र उपकरणहरुको पाँचदिने सडक प्रदर्शनी जारी छ। संस्थाले कृषिमा प्रयोग हुने आधुनिक उपकरणहरुलाई सुनसरीका बिभिन्न स्थानीय तहहरुका किसानमाझ पुर्‍याएको हो।

कृषकहरु दैनन्दिन काममा व्यस्त हुने हुँदा उनिहरुको घर गाउँमै सहकारीले मेसिन पुर्‍याएर मेसिन देखाउने र आवश्यक जानकारी प्रदानसँगै अन्तक्र्रिया गरिरहेको छ।मंगलबारदेखि शुरु भएको रोड शो यतिखेर तरहरा, भवानीपुर हुँदै बराहक्षेत्र पुगेको छ। सडकमा गुडेका ठूला कृषि उपकरणहरु हेर्न सर्वसाधारण तथा कृषकहरुको उल्लेख्य भीड लाग्ने गरेको छ।

धान, गहुँ काट्न र छाँट्न जमिन जोत्ने, बाली लगाउने, बाली उठाउने आदि काममा प्रयोग हुने कम्बाइन हार्भेस्टर र चेन ट्रयाक हार्भेस्टर, परालहरुलाई संकलन गरेर मुठा बनाउने बेलर, बिउ रोप्ने सिड ड्रिल, खेत जोत्ने विभिन्न उपकरणहरुसहित थ्रेसर, ट्रयाक्टरहरु सडक प्रदर्शनीमा राखिएका छन्।

‘कृषि यन्त्र उपकरणको प्रयोगले खेती छिटो, सस्तो र कम झन्झटका साथ गर्न सकिन्छ भनेर सर्वसाधारण तथा किसानहरुलाई बुझाइरहेका छौं’ संस्थाका अध्यक्ष कमलकान्त राईले भने, ‘मेसिनहरुबारे आवश्यक जानकारी वहाँहरुलाई दिइरहेका छौं, निकै प्रभावकारी भएको छ’। two

कार्यक्रम तालिकाअनुसार बिहीबार भुटाहादेखि इनरुवासम्म, शुक्रबार औरावनी, चाँदबेला हुँदै मधेशासम्म र शनिबार रामधुनी नगरपालिकादेखि तित्रिवनको कस्टम हायरिङ सेन्टरसम्म सडक प्रदर्शनी गरिनेछ । शनिबार सडक प्रदर्शनीको समापनसँगै तित्रिवनमा कस्टम हायरिङ सेन्टरको नवनिर्मित भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम छ।

सगुनले कृषकलाई सस्तो मूल्यमा कृषिमा प्रयोग हुने आधुनिक यन्त्र उपकरणहरु भाडामा उपलब्ध गराउने गरी कस्टम हायरिङ सेन्टर सञ्चालन गरिरहेको छ। संस्थाले प्रदेश सरकारसमेतको सहकार्यमा सो सेवा सुरु गरेपछि सुनसरीका कृषकहरुको कृषि कार्य सहज बनेको छ।

‘पहिले मानिसले हप्तौं लगाएर गर्ने काम आजभोलि मेसिनको प्रयोगले केही घण्टामै भइरहेको छ र त्यो श्रमशक्तिभन्दा सस्तो पनि छ,’ सँस्थाका सल्लाहकार तथा कृषि क्षेत्रमा लामो अनुभव संगालेका टिकादत्त वनले भने, ‘मेसिनको प्रयोग गर्नका लागि किसानहरुलाई उत्प्रेरित गर्न आवश्यक ठानेर सहकारीले सामाजिक कार्यअन्तर्गत यो अभियान सञ्चालन गरेको हो।’

संस्थाले यसअघि नै युवाहरुलाई कृषि यन्त्र उपकरणको मर्मतसम्बन्धि तालिम सञ्चालन गरिसकेको छ भने ठाउँ ठाउँमा सचेतनामुलक कार्यक्रमहरु गरिरहेको छ। आगामी दिनमा जमिन चक्लाबन्दी तथा कृषिको आधुनिकीकरण र मलबिउ, उपकरणहरुको सहज पहुँचका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसँग मिलेर काम गर्ने संस्थाले जनाएको छ।