काठमाण्डौ/ सुनसरीको इटहरीस्थित कामधेनु दुग्ध बिकास सहकारी संस्थाले काठमाण्डौ उपत्यकासहितका बजारमा आक्रामक रुपमा बिक्रि बितरण शुरु गरेको छ। संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर,खुवालगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका शहरहरूमा बजारीकरण शुरु गरेको हो। 

करिव २४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच बिस्तार गरेपछि उपत्यका केन्द्रित व्यापार थालेको अध्यक्ष यादव ढकालले बताउनुभएको छ।

अध्यक्ष ढकालका अनुसार बजारीकरणको पहिलो चरणमा काठमाण्डौको चावहिलमा शीत भण्डार स्थापना गरिएको छ। पाँच टन क्षमता रहेको भण्डारमा दुग्धजन्य सामाग्रीहरु स्टोर गरी काठमाडौ, भक्तपुर, ललितपुरसहित काभ्रेपलाञ्चोकका बजारमा विक्री वितरण गर्दै आएको संस्थाका बजार प्रमुख नवराज नेपालले जानकारी दिनुभयो।kamdhenuuकामधेनुले यस आर्थिक वर्ष भित्रमै उपत्यकाका २० मुख्य बजारहरूमा विक्री केन्द्र खोल्न लागेको बजार प्रमुख नेपालले बताउनुभयो। उपत्यकामा समेत खुल्ला दुग्ध पदार्थहरू जथाभाबी बेचबिखन हुने पाइएकाले सरकारले अनुगमन गरी त्यस्ता कार्य निरुत्साहित गर्नुपर्ने उहाँको भनाइ छ ।

उपभोक्ताले गुणस्तरीय दुग्ध पदार्थहरूको माग अत्याधिक मात्रामा गरिरहेको अवस्थामा उपत्यकामा आइसकेपछि थप हौसला मिलेको दाबी गरेका छन्। इटहरी उप-महानगरपालिका २०स्थित तरहरामा प्रधान कार्यालय रहेको कामधेनुमा प्रत्यक्ष रुपमा पूर्वका सुनसरी, मोरङ, झापा, धनकुटा, तेह्रथुमलगायत जिल्लाका एघार हजार कृषकहरू आबद्ध छन्।

बिदेशका निर्यातका लागि छुर्पीको सम्झौता

कामधेनुले आफ्ना उत्पादनहरुलाई विदेशसम्म पुर्‍याउने तयारी शुरु गरिसकेको छ। बजारीकरणकै क्रममा सहकारी संस्थाले अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा दुग्धजन्य पदार्थहरू निर्यात गर्दै आएको ललितपुरको लेकाली नेपाल प्रा.लि.सँग कम्तिमा बार्षिक ५० हजार केजी छुर्पी बिक्री गर्ने गरी सम्झौता गरेको छ।

लेकाली नेपाल प्रा.लि.का म्यानेजर अङ्कित मुन्द्राले संस्थासँग बार्षिक ५०हजार केजी छुर्पी खरिद गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गनुभएको छ। संस्थाका तर्फबाट अध्यक्ष ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। प्रतिकेजी १ हजार ३ सयदेखि १ हजार ४ सयसम्म खुद्रा मूल्यमा बिक्री हुँदै आएको छुर्पी विदेश निर्यात गर्ने गरी सम्झौता हुँदा समग्र कृषकहरूलाई पनि फाइदा पुग्ने संस्थाका अध्यक्ष ढकालले बताउनुभयो।

पछिल्लो समय सरकारको दुग्ध बिकास संस्थानले समेत कृषकहरूले उत्पादन गरेर विक्री गरेको दुग्धजन्य पदार्थहरूको उचित मूल्य नै नपाईरहेको समयमा पूर्वी नेपालमा उत्पादन भएका सामाग्रीहरू उपत्यका पुर्‍याएर बिक्री वितरण गर्न निकै चुनौतीपूर्ण मानिए पनि कामधेनुले आफ्ना उत्पादनहरूलाई नेपालका ठुला शहरहरूमा समेत पु¥याउनका लागि बजारीकरण गर्नु महत्वपूर्ण भएको धनकुटाका कृषक भरत गुरुङले बताउनुभयो।

पछिल्लो समय कृषकले उत्पादन गरेका दुग्धजन्य पदार्थहरू बिक्री नभएर मिल्क होलिडे भईरहेको समयमा कोसी प्रदेशमा राम्रो हिस्सा ओगटेको कामधेनुले पूर्वमा उत्पादन भएका पदार्थहरू बिक्री गर्दा यहाँ देखिएको समस्याहरू समेत निराकरण हुने कृषक गुरुङको दाबि छ।