आजदेखि जन्मसिद्धका सन्तानलाई नागरिकता

  • पूर्वीखबर
  • प्रकाशित मिति: जेठ २१, २०८०

इटहरी । जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले आज (आइतबार) देखि नयाँ नागरिकता ऐन अनुसार नागरिकता पाउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरे पनि नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण सुरू भएको छैन । जिल्ला प्रशासन कार्यालयहरू गृह मन्त्रालयको परिपत्र कुरेर बसेका थिए ।

गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै नयाँ ऐन अनुसार नागरिकता वितरण सुरू गर्न भनेपछि मुलुक भरका जिल्ला प्रशासनहरूले आइतबारदेखि नागरिकता वितरण थाल्ने भएका हुन् ।‘हामीले नयाँ कानुन अनुसार नागरिकता वितरण सुरू गर्न सबै जिल्ला प्रशासनहरूलाई परिपत्र गरेका छौं,’ गृह मन्त्रालयकी सहसचिव रूद्रादेवी शर्माले भनिन्, ‘ऐन २०७८ को नियमावली अनुसार जारी भइसकेको छ । अब सोही नियमावली अनुसार नागरिकता वितरण गर्नु भनेर सबैलाई परिपत्र गरेका छौं ।’

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले कानुन अनुसार नागरिकता वितरण सुरू हुने जानकारी दिए । त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नयाँ कानुन अनुसार नागरिकता वितरण सुरू हुने जानकारी दिए । ‘नागरिकता ऐन जारी भइसकेको छ’, उनले भने, ‘कानुन अनुसार नागरिकता वितरण सुरु हुनेछ ।’

राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनले पुरानो कानुनमा मुख्यतः चार वटा परिवर्तन गरेको छ । गृहको परिपत्रसँगै आइतबारदेखि नयाँ कानुन अनुसार जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले, आमाको नामबाट मात्र नागरिकता लिनेहरूले र विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले पनि नागरिकता पाउने छन् । त्यस्तै, गैरआवासीय नेपालीले राजनीतिक बाहेकका अधिकार प्राप्ति गर्नका लागि पनि नागरिकता पाउने छन् ।

नयाँ कानुन अनुसार २०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउँछन् । यो कानुनअनुसार महिलाले आफ्नो नामबाट मात्र सन्तानलाई नागरिकता दिलाउन चार वटा शर्त पूरा गर्नुपर्ने छ ।

ती चार शर्तहरु हुन्, नेपालमै जन्मेको हुनुपर्ने, नेपालमै बसोबास गरेको हुनुपर्ने, बाबुको पहिचान नभएको हुनुपर्ने र बाबुको पहिचान नभएको घोषणा गर्नुपर्ने । पुरूषले आफ्नो नामबाट मात्र सन्तानलाई नागरिकता दिलाउनका लागि कुनै पनि शर्त पूरा गर्नु पर्दैन । उनीहरूले आफ्नो नागरिकता देखाएर सजिलै सन्तानलाई नागरिकता दिलाउन सक्ने छन् ।

नयाँ कानुन अनुसार नेपाली महिलाले विदेशीबाट जन्माएका सन्तानलाई अंगीकृत गर्ने व्यवस्था भएको छ । कानुनले विदेशीबाट जन्मिएका नेपाली महिलाका सन्तानले बाबुको देशको नागरिकता लिएको छैन भनेमात्र नेपालको नागरिकता पाउने व्यवस्था गरेको छ । तर, उसले आमाको नामबाट वंशजको नागरिकता पाउने छैन । अंगीकृत नागरिकता पाउने छ । तर, नेपाली पुरूषले विदेशी महिला विवाह गरे पनि उनीहरूबाट जन्मिएका सन्तानले वंशजको नागरिकता पाउने छन् । अंगीकृत नागरिक यो देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख बन्न पाउने छैनन् ।

अर्थात् नेपाली महिलाले विदेशी पुरूषसँग विवाह गरेर जन्मिएको सन्तान माथि उल्लेखित राज्यका प्रमुख पदहरूमा पुग्ने पाउने छैन । तर विदेशी महिला र नेपाली पुरूषबाट जन्मिएको सन्तानलाई भने त्यस्तो कानुनी बन्देज हुने छैन ।

नयाँ ऐनमा गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राखिएको छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था नयाँ कानुनमा छ ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved