संसारकै धनी भिखारी : २ करोडको घर, १२ करोड सम्पत्ति, तर छाडेनन् भीख माग्न

  • पूर्वीखबर
  • प्रकाशित मिति: श्रावण ६, २०८०

एजेन्सी । बाटोमा हिँड्दा तपाईंले भीखारी त पक्कै देख्नुभएकै छ। विपन्न सोचेर कतिपयलाई सहयोग पनि गर्नुभएको होला। तर के तपाईंलाई थाहा छ, विश्वमा केही यस्ता भीखारी पनि छन्, जसको सम्पत्ति नै करोडौँको छ।

त्यस्तै एक हुन् भारतका भरत जैन। उनी मुम्बईमा २ करोड (१ करोड २५ लाख भारु)को घरमा बस्छन्। उनलाई संसारको सबैभन्दा धनी भीखारी पनि भनिन्छ। भरत जैनका छोराछोरी भारतको सबैभन्दा महँगोमध्ये एक कन्भेन्ट स्कूलमा पढ्छन्।

मुम्बईमा मात्रै होइन उनले पुणेमा पनि घर बनाएका छन्। त्यो घरका सटर भाडामा दिएर मासिक ४८ हजार कमाउँछन्। त्यसबाहेक उनको मुख्य पेसा भीख माग्नु नै हो। भीख मागेको पनि जोड्दा उनको मासिक कमाइ मासिक १ लाख रुपैयाँ नाघ्छ। उसो त मुख्य पेसाको कमाइ कहिलेकाहीँ थपगढ हुन्छ।

उनको कुल सम्पत्ति १२ करोड (७ करोड ५० लाख भारु) रहेको बताइन्छ।मुम्बईमा जन्मिएका उनले आर्थिक अवस्था कमजोर भएका कारण पढ्न पाएनन्। विस्तारै मजबुरीका कारण भीख माग्न थाले। उनले सुरुमा छत्रपति शिवाजी टर्मिनस वा आजाद मैदानमा भीख माग्न थालेका थिए। पछि त्यो पैसा लगानी पनि गर्दै गएर करोडौँका मालिक भए।

बिहे गरे। अब उनको परिवारमा श्रीमती, बुवा, भाइ र दुई छोरा छन्। परिवारका अन्य सदस्यले स्टेसनरी चलाउछन्। करोडौँका मालिक भइसकेपछि पनि उनले भीख माग्न भने छाडेका छैनन्। दैनिक १२ देखि १४ घण्टा मुम्बईका सडकमा उनले भीख माग्ने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved