१४० वर्षपछि बेइजिङमा भीषण वर्षा, १३ करोड चिनियाँ प्रभावित

  • पूर्वीखबर
  • प्रकाशित मिति: श्रावण १८, २०८०

एजेन्सी । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा १४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।

राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो ।राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् । वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् ।

बाढीपहिरोमा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने केयौँ घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो । साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मङ्गलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved