मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दिनचर्या मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ ।
विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका गुरुङसँग एक सय २० मौरीका घार छन् ।
सुरुका वर्षमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले धेरै विस्तार भएको गुरुङले बताए । वर्षामा खाना तथा परजीवीको अभाव हुँदा केही समस्या हुने भए पनि अन्य समयमा मौरीपालन गर्न सहज हुने उनको भनाइ छ । ‘तालिम लिएपछि व्यावसायिक मौरीपालन गर्न सहज भएको छ’, गुरुङले भने, ‘हिजोआज उत्पादन भएको मह बिक्रीका लागि बजार पुग्नु पर्दैन, घरबाटै बिक्री हुने गरेको छ ।’
देवचुली नगरपालिका–९ का किसान विष्णुबहादुर खड्काले पाँच घारबाट सुरु गरेको मौरीपालन अहिले २१ घार भएका छन् । बाख्रापालनसँगै मौरीपालन गर्दै आएका खड्काले पहिलोपटक ८४ केजी मह उत्पादन भएको भन्दै दोस्रोपटक एक क्विन्टल २० केजी उत्पादन भएको जानकारी दिए । ‘पाँच घारबाट सुरु गरेको मौरीपालन व्यवसायलाई थप वृद्धि गरी २१ पुर्याएको छु । आम्दानी पनि मनग्य भएको छ । अर्को वर्ष ५० घार बनाउने लक्ष्य रहेको छ’, उनले भने ।
देवचुली–९ का जस्मती रानाले मौरीपालन गर्न थालेको तीन वर्ष भयो । दुई घारबाट सुरु गर्नुभएको मौरीपालन अहिले १५ घारमा पुगेको रानाले बताए । ‘मौरीपालनबाट राम्रो आम्दानी हुँदै गएकाले सन्तुष्ट छौँ । पहिलो वर्ष एक क्विन्टल र दोस्रो वर्ष दुई क्विन्टल मह बिक्री भयो’, उनले भने, ‘प्रतिकेजी सात सयमा मह बिक्री हुन्छ ।’
असार, साउनमा एकपटक चास्नी दिने र रानी उत्पादन गर्दा हेरविचार गरे पुग्ने भएकाले कम समय र मेहनतमा मौरीपालन गर्न सजिलो भएको रानाले बताए । एउटा घारबाट वार्षिक ४० देखि ६० केजीसम्म मह उत्पादन हुने गरेको उनले जानकारी दिए ।
थोरै लगानीबाट व्यवसाय सुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि जिल्लामा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अहिले झन्डै दुई सय किसान मौरीपालन व्यवसायमा आबद्ध रहेका नेपाल मौरीपालक किसान महासङ्घ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले जानकारी दिए । ‘जिल्लामा पाँच हजार मौरीका घार छन् । बर्सेनि यो व्यवसायमा लाग्ने किसानको सङ्ख्या बढ्दै गएको छ’, उनले भने, ‘जिल्लामा वार्षिक करिब ५० मेट्रिक टन मह उत्पादन हुने गरेको छ ।’
यो वर्ष जिल्लामा मौरीपालक किसानको सङ्ख्या बढेकाले मह उत्पादन पनि वृद्धि हुने अनुमान गरिएको कँडेलले बताए । उत्पादित मह स्थानीय बजारका साथै छिमेकी जिल्लामा खपत हुने गरेको उनले बताए ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठ स्थानीय तहमध्ये कावासोती, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै रहेको अध्यक्ष कँडेलले जानकारी दिए । मौरीपालनबाट पर्याप्त आम्दानी लिन सकिने भए पनि चरनको समस्या रहेको उनको भनाइ थियो ।
‘स्थानीय रूपमा चरनको समस्या हुँदा विभिन्न ठाउँमा लैजानुपर्ने बाध्यता छ । दाङ, कपिलवस्तु, प्यूठान, सल्यानसम्म मौरी चराउन लैजाने गरिएको छ’, कँडेलले भने ।
तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य याममा चरनका लागि समस्या हुने गरेको उनले बताए ।
फूल तथा बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको अध्यक्ष कँडेलको भनाइ थियो । रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, चिउरीलगायत बोटबिरुवा मौरी चरनका लागि उपयुक्त हुने भए पनि कतिपय बोटबिरुवा पाउनै छाडेको किसान बताउँछन् । किसानले फूल खेती गर्न छाडेकाले मौरीपालक किसानलाई समस्या हुने गरेको छ ।