काठमाडौं / भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्न पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरातसँग प्रतिस्पर्धा गर्न भएको छ । खेल नेपाली सयम अनुसार बुधबार दिउँसो पौने तीन बजे सुरु हुने छ ।

लगातार दुई खेलमा विजयी नेपालले बुधबार तेस्रो खेल खेल्न लागेको हो ।पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो ।

आजको खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा हुने छ ।नेपाल विश्वकपको तयारी स्वरुप गुजरात र बरोडासँग सिरिज खेल्न भारत गएको हो। नेपालले प्रतिस्पर्धा गर्ने भारतका दुवै टोली राज्य स्तरका हुन् ।

नेपालले अर्को खेल चैत २३ गते बरोडामा खेल्नेछ। लिग चरणमा एक अर्कासँग दुईदुई खेल खेलेपछि शीर्ष दुई टोलीबिच फाइनल प्रतिस्पर्धा हुनेछ।

नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारीका रुपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’मा छ। नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।