इटहरी/ हाइलङ्ग गाडीको सोरुम उद्घाटन हुन नपाउँदै विद्युतीय गाडीको विक्री धमाधम बढिरहेको छ। यसअघि एकैपटक १० वटा गाडी विक्री गरेको हाइलङ्गको आधिकारिक विक्रेता सप्तकोसी ट्रेडिङले आइतबार १० थान भ्यान विक्री गरेको हो। 

पूर्वेली यातायात व्यवसाय कम्पनीलाई सप्तकोसी ट्रेडिङले एक कार्यक्रममा बीच गाडी हस्तान्तरण गरेको हो। पहाडी तथा तराईका जिल्लाहरूमा यातायातको सरल र सुलभ माध्यम विद्युतीय गाडी भएकाले यसको माग बढ्दै गएको हो। 

कम्पनीका उपाध्यक्ष मोहनमणी बरालका अनुसार सम्पूर्ण फिचरसहितको हाइलङ्ग भ्यान खरिद गरेकोमा खुसी व्यक्त गर्नुभएको छ। आइतबार देखिनै विद्युतीय माइक्रो बसको सेवा शुरु गरेको उहाँले जानकारी दिनुभयो। आर्थिक हिसाबले मितव्ययी हुने विद्युतीय गाडीले प्रदूषण समेत कम गर्ने उहाँको भनाइ छ। 

सप्तकोसी ट्रेडिङका सञ्चालक दीपक पोखरेलले विद्युतीय भ्यानहरू प्रति उपभोक्ताको रुचि बढेको बताउनुभयो। बजारमा विद्युतीय गाडीको माग बढेसँगै चाइनाको भरपर्दो हाइलङ्ग भ्यानहरू इटहरीबाट विक्री शुरु गरिएको उहाँको भनाइ छ।