काठमाण्डौ/ बाग्मती प्रदेश सरकारबाट नेकपा एमाले फिर्ता भएको छ। नेकपा माओवादी केन्द्र नेतृत्वको वाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको हो। 

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिएका छन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले वाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियासहित पाँचजना मन्त्रीले संयुक्त राजीनामा दिनुभएको हो। 

राजिनामा सँगै वाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको पत्र बुझाउनुभएको छ। 

एमालेबाट बाग्मती प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उद्योग, बाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्री केशव पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकालाल श्रेष्ठ सामेल हुनुहुन्थ्यो। 

एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा पर्नुभएको छ। उहाँले प्रदेश सभाबाट विश्वासको मत लिने बताउनुभएको छ। संविधान अनुसार उहाँले ३०दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ।  

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै वाग्मतीमा पनि सत्ता समीकरण फेरिन लागेको हो। वाग्मतीमा नेपाली कांग्रेस र एमालेको मिलीजुली सरकार बन्दैछ।