काठमाण्डौ / स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई हराएको छ र, आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा दोस्रो जित हात पारेको छ।

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आइतबार अमेरिकालाई ८ विकेटले हराएको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सन्दीपले ६ विकेट र सुशनले ४ विकेट लिएपछि अमेरिका १२ ओभरमै ३५ रनमा अलआउट भएको थियो।

अमेरिकाका लागि ओपनर जेभियर मार्ससले १६ रन बनाए भने बााकी खेलाडीले दोहोरो अंककमा रन छुन सकेनन्। नेपालका लागि सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए।

सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए।

नेपालले सामान्य लक्ष्य पछ्याउने क्रममा दुवै ओपनर ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलललाई दोस्रो ओभरमै गुमाएको थियो। तर पूर्व कप्तान पारस खड्का र उपकप्तान दीपेन्द्र सिंहले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए। छैटौं ओभरको दोस्रो बलमा दीपेन्द्र छक्का हान्दै खेल सकाएका थिए।

पारस १५ र दीपेन्द्र १५ रनमा अविजित रहे। अमेरिकाका लागि नासथुस केन्जिगेले २ विकेट लिए।