कपडाहरू पुराना भएपछि
खुइलिन थाल्छन्
बा तिनै रङ्ग उडेका कपडाहरू
लगाइरहनुहुन्थ्यो
बा भन्नुहुन्थ्यो –
कपडा खुइलिनु भनेको
कपडामा नयाँ रङ्ग आउनु हो ।
त्यसपछि, मैले मेरा हरेक लडाईमा
कुदिरहेको म देखेँ
हरेक ठक्करमा
उडिरहेको म भेटेँ
मलाई उडेर पुग्नु छ
सपनाको इन्द्रेणीसम्म
र रङ्गीन बनाउनु छ बाका ओठहरू ।

गहिरो खोलाको
भासिएको बगरदेखि
अग्लो रुखको
आकासिएको टुप्पोसम्म
बाझ का पैतालाहरू
सबैतिर पुगेका छन्
मलाई तिनै पैतालाहरूले सिकाएका हुन्–
गहिराईमा भासिने त्राससङ्ग लड्न
उचाईबाट खस्ने डरलाई जित्न
मलाई फराकिलो भएर अग्लिनु छ
–आकाशजस्तै
–बाझ जस्तै ।

फित्ते चप्पलको चुट्टिएको लोतीलाई
बाझ कि त झुम्राले बाँधेर जोड्नुहुन्थ्यो
कि त आगाले पगालेर
मैले ती चप्पलहरू बोलेको सुनेको छु –
–चुट्टिनु भनेको सकिनु होइन
नयाँ स्वरूप पाउनु हो
–आगोले भत्काउँदैन मात्र
जोड्ने काम पनि गर्छ
सायद त्यसैले होला
परिस्थितिका रापिला लप्काहरूले
मेरो गन्तव्य निल्ने आँट
कहिल्यै गरेनन्
सट्टामा जन्माइदिए
आत्मविश्वासकको सगरमाथा ।

बाले
हाम्रो बोली नबुझिने उमेरदेखि
आफ्नो बोली नबुझिने उमेरसम्म
माटो बनेर
हाम्रो पेटलाई जोगाउनुभयो
बाटो बनेर
हाम्रा पैतालालाई जोगाउनुभयो
सजिलो छैन–
अरुको सजिलोको लागि
आफ्ना सजिलाहरू सुम्पिएर
काँडैकाँडाको बाटो हिँड्न ।

जसको आत्मविश्वास र
परिश्रमको बज्रले
चट्टानको पहाडलाई
उर्वर माटो बनाउन सक्छ
जसको प्रेम र त्यागको धाराले
मरुभूमिमा महासागर खडा गर्न सक्छ
ती मेरा बाझ हुन्
सजिलो छैन–
एउटा काँधमा पृथ्वी
र अर्को काँधमा समय बोकेर
बिना पुलको महासागर तर्न
मलाई बाझजस्तै बन्नु छ ।