भोजपुर / हङकङमा बसेर आख्यानमा कलम चलाउने कथाकार गुरुङको डायस्पोरिक कथा सँग्रह लाइ-सीमाथि भोजपुरमा परिचर्चा भएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रगतिशील लेखक संघले संयोजन गरेको हो ‌।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अमृका ताम्राकारले गरेका थिए भने सञ्चालन सचिव कवि कविता राईले गरेकी थिइन् । कार्यक्रममा कथाकृति लाइ-सी माथि उप-प्राध्यापक सुरेन्द्र कार्की, समीक्षक शरण बहादुर खत्री र कवि/गीतकार कमला प्रधानले कृतिमाथि परिचर्चा गरेका थिए ।

परिचर्चा कारहरूले कथाकृतिमाथि डायस्पोरिक प्रवृत्ति, दाजु गुरुङका कथामा लैङ्गिकता, दाजु गुरुङका कथागत विशेषताहरू माथि चर्चा गरे । समग्रमा  कथाकृति लाइ-सीले नेपाली साहित्यको कथा क्षेत्रमा एक राम्रो उपस्थिति जनाएको निष्कर्ष परिचर्चा कारहरूले प्रश्तुत गरे ।

कार्यक्रममा खोटाङ जिल्लाको हलेसीमा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा द्वितीय हुने भोजपुरका कवि सँग्राम किरातीलाई सम्मान पनि गरिएको थियो भने उदयपुरका अतिथि कवि जीवन आरोहीले कविता वाचन गरेका थिए ।