तीन करोडको आरोप लागेपछि रास्वपा प्रवक्ताले भने- ढाकाविरुद्ध मानहानिको मुद्दा हाल्दै छु

  • पूर्वीखबर
  • प्रकाशित मिति: जेठ ११, २०८०

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले पार्टीका निलम्बित समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानिको मुद्दा हाल्ने बताएका छन्। श्रेष्ठले सांसद बनाउँदा आफूसँग पार्टीका प्रवक्ता ढकाल र उपसभापति डीपी अर्यालले झन्डै ३ करोड रुपैयाँ लिएको आरोप लगाएका छन्। सोही कारण उनीविरुद्ध अदालतमा मानहानिको मुद्दा हाल्ने प्रवक्ता ढकालले बताएका हुन्।  

‘केही सञ्चारमाध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ’, प्रवक्ता ढकालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ। यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ। यसबाट हामीले हाम्रो मानहानि भएको महसुस गरेको हुँदा अदालतमा मानहानिको मुद्दा दर्ता गर्दै छौँ।’

आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्ने र अदालतले क्षतिपूर्ति दिलाए, त्यो रकम रास्कोट अस्पताललाई सहयोगार्थ दिने पनि उनले उल्लेख गरेका छन्। ढकाल कालिकोटस्थित रास्कोट अस्पतालका निर्देशक पनि हुन्।

ढाकाकुमार तिनै व्यक्ति हुन्– जसलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि पार्टीले निलम्बन गरेको थियो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved