काठमाण्डौ/ सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अहिले सत्तामा रहेकाहरुले नै बिमानस्थल कब्जा गरेर सुन तस्करी गरिरहेको आरोप लगाउनुभएको छ। संघीय राजधानी काठमाण्डौमा सञ्चारकर्मीसँगको कुराकानीमा सांसद शर्माले यस्तो भन्नुभएको हो।

आफ्नै दल सरकारमा सामेल रहेका बेला कांग्रेस सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेर सत्तामा रहेका विशिष्ट व्यक्तिहरूले नै तस्करी गरिरहेको आरोप लगाउनुभयो।

इन्टरनेशनल इन्टिलिजेन्स एजेन्सीहरूको रिपोर्ट अनुसार नेपालको बाटो हुँदै अवैधानिक रुपमा ठूलो मात्रामा सुन भारतीय बजारमा गइरहेको भन्दै सांसद शर्माले राज्य सत्ताको संलग्नता बिना यस्तो तस्करी सम्भव नभएको जिकिर गर्नुभयो।

‘एयरपोर्ट क्याप्चर गरेर लुइँलुइँ सुन तस्करी गर्नेहरू चै यो देशको राज्य संयन्त्रमा बसेका छन्, अनि अरबौं ट्याक्स बुझाएर व्यवसाय गर्ने हामीलाई चै माफिया भन्छन्,’ स्वास्थ्य व्यवसायीसमेत रहनुभएका सांसद शर्माले ‘इन्टरनेशनल इन्टिलिजेन्स एजेन्सीहरुको रिपोर्ट अनुसार पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि ४ सय टन सुन नेपालको बाटो हुदै अबैधानिक रुपमा भारतीय बजारमा गएको छ, यो देशको गभर्मेन्टमा भएका, राज्य सत्तामा रहेका टप मान्छेहरूको संलग्नताबिना यो कुरा सम्भव नै छैन।’

सरकारका बिशिष्ट व्यक्तिहरु र उनीहरुका परिवारका सदस्यहरूको संलग्नता र संरक्षणबिना सुन तस्करी सम्भव नभएको उहाँको आरोप छ। ‘अहिले प्रधानमन्त्रीकी छोरी गंगा दाहालको नाम सुन तस्करीमा आइरहेको छ, प्रधानमन्त्री जी ले आफ्नै छोरीबाट अनुसन्धान गर्न सक्नुहुन्छ ? उहाँले प्रश्न गर्नुभयो। आफूले आजसम्म एक रुपैयाँ पनि घुस नखाएको दावी गर्दै सांसद शर्माले घुस खाने, तस्करी गर्ने तथा अनैतिक काम गर्नेहरूको बिरोध गर्न नछोड्ने उल्लेख गर्नुभएको छ।