इटहरी/ सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण देखा परेपछि देशभर लकडाउन घोषणा गरेको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मंगलवारदेखि एक साताका लागि घोषित लकडाउन कार्यान्वयन गर्न सुरक्षाकर्मी दिनरात खटिएका छन्।

मुख्यतया फ्रन्टलाईनमा ट्राफिक प्रहरी र जनपद प्रहरी खटिएका छन्। ब्याकअपमा सशस्त्र प्रहरी खटिएको छ। सेनाले फाट्टफुट्ट गस्ती गरिरहेको छ। कोरोना रोकथामका लागि लकडाउन गरेपनि यसलाई कार्यान्वयन गराउने नेपाल प्रहरी खाली हात सडकमा खटिएका छन्। न उनीहरुसँग गुणस्तरीय मास्क छ, न त पन्जा नै। केहीले मेडिकल ग्लोब्स लगाएका छन् भने केही खाली हात सडकमा उत्रिएका छन्। उनीहरुसँग हातमा प्रयोग गरिने स्यानिटाइजरसमेत छैन।

यस्तो प्रतिकूल अवस्थामा प्रहरीले कसरी लकडाउनमार्फत कोरोना विरुद्धको अभियानमा आफ्नो कार्य सम्पादन गरिरहेको छ भन्ने प्रसङ्गमा सञ्चारकर्मी मनोज भुजेलले नेपाल प्रहरीका महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीसँग कुराकानी गरेका छन्।

प्रस्तुत छ ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश:
बिश्वभर फैलिएको कोरोना भाइरसको लडाईमा नेपाल प्रहरीले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?
नेपाल सरकारको आदेश र निर्णयहरू कार्यान्वयन गर्ने सन्दर्भमा प्रहरी फ्रन्टलाईनमा रहेर काम गरिरहेको छ। देशभरका प्रहरी अहिले क्वारेन्टाइनको व्यवस्थापन गर्ने, सीमादेखि सडक सडकदेखि चौक गल्लीसम्म खटिएर लकडाउनको कार्यान्वयन गराउने, आपूर्ति व्यवस्थापन अनि यो समयमा हुने आपराधिक कृयाकलापको डिफेन्सलगायत सबै पक्षको समायोजनमा प्रहरी खटिएको छ।

लकडाउन कतिपय स्थानमा उल्लंघन भइरहेका छन्। प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था पनि छ नि ?

प्रहरीले आफ्नो स्वार्थको लागी लकडाउन लगाएको झैँ गर्छन् नागरिकहरू। यो नबुझ्दा हामीलाई हैरानी पक्कै भएको हो। यो सबैको सुरक्षाको निम्ति हो भनेर सोचिदिनु पर्‍यो। पहिलो चरणमा हामीले सम्झायौ, माइकिङ गरौँ, नहिँड्न आग्रह गर्‍यौँ। त्यति गर्दा पनि जबरजस्ती गर्छन भने सामान्य बल प्रयोग गर्नुको बिकल्प छैन। अब त हामी सावधानी अपनाएर पक्राउ गछौं र कानुनी प्रकृयामा अघि बढाउँछौं। मुलत बल प्रयोग गर्नुभन्दा पनि नागरिक आफैँ सचेत हुनुपर्छ। बाँकी केही व्यवहारिक समस्या पनि देखिएका छन्।

यसमा त प्रहरी आफै असुरक्षित भयो नि ?
सडकमा सवारी रोक्ने, पास चेक गर्ने काम ट्राफिक र जनपद प्रहरीले गरिरहेका छन्। पास नलिएका सवारीलाई नियन्त्रणमा लिने काम पनि उनीहरूले गरिरहेका छन्। यस क्रममा सयौँ व्यक्तिसँग उनीहरूको साक्षात्कार हुन्छ। तर, उनीहरू आफैँ सुरक्षित छैनन्। सतर्कताका लागि आवश्यक सामग्री छैन। एक हिसाबले भन्ने हो भने कोरोना भाइरस फैलिन नदिन लकडाउन कार्यान्वयनमा खटिएका उनीहरु आफैँ कोरोनाको उच्च जोखिममा छन्। जबकि अरूलाई सुरक्षा दिने सुरक्षाकर्मी पहिला आफै सुरक्षित हुनुपर्ने हो।

फ्रन्टलाईनमा काम गर्ने प्रहरीका लागि आवश्यक साधन स्रोत नहुँदा असुरक्षित हुने नै भयो। नेपाल सरकार समक्ष हामीले भाइरसबाट जोगिने उपकरणहरू माग गरेका छौ। हेरौँ केही दिन भित्र यसको व्यवस्थापन हुनेछ ।

प्रहरी भोक भोकै डिउटी गरिरहेका छन् नि ?
हो, डिउटीमा खटिएका प्रहरीले खाजा खान नपाएको भनेर गुनासो आएका छन्। यो समयमा प्रहरी बढी खटिनुपर्ने भएकाले व्यवस्थापन नभएको हुनसक्छ। हामीले फिल्डमा खटिने प्रहरीका लागि भत्ता र खाजाको व्यवस्थापन गर्न लागी परेका छौँ।

नेपालमा प्राय बिदेशबाट आएकाहरूमा कोरोना पोजेटिभ देखिएको छ। यो समयमा उनीहरुबाटै यसको स्रक्रमण फैलने खतरा पनि बढेको छ। यसमा प्रहरीले के गरिरहेको छ ?

अहिलेसम्मको डाटा हेर्दा देखिएको यही नै छ। हामीले बिदेशबाट आएकाहरूलाई दुईटा काम गदैछौँ। पहिलो ट्रयाकिङ र ट्रेसिङ। प्रहरीले कुन फ्ल्याईटबाट को को आए र कहाँ कहाँ गए भनेर ट्राभल हिस्ट्री निकालिरहेका छौ। जसमा हामीले स्थानीय निकायसँगको समन्वयमा यो काम अघि बढाइरहेका छौँ। गृह मन्त्रालयको आदेशबाट देशभर जनप्रतिनिधि र प्रहरीको समन्वयमा यो काम भइरहेको छ। त्यसपछि उनीहरुको स्वास्थ्य अवस्था र जोखिमलाई बिचार गरेर क्वारेन्टाइनमा राख्ने काममा प्रहरी खटिएको छ।

लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्ला पुग्नुपर्नेहरु अति आवश्यक काम भएका नागरिकहरू भोक भोकै अलपत्र छन्। प्रहरीले यसमा समन्वय गरेन भन्ने आरोप छ नि ?
लकडाउन भनेकै एक जिल्लाबाट अर्को जिल्ला जान आउन निषेध गर्नु हो। अत्यावश्यक बाहेक हिड्ने नै हैन। भारतीय प्रधानमन्त्री मोदीले घरमै लक्ष्मण रेखा कोरौँ घरबाट बाहिर ननिस्कौँ भनेका छन्। यसको आशय के हो?यो लकडाउन हाम्रो सुरक्षाको लागि हो भनेर किन नागरिकले बुझ्दैनन् ? अनि प्रहरीले दुख दियो भनेर कसरी बोल्न मिल्छ भन्या ? बिरामी छ, मलामी जानु छ र अति नै आबश्यक परेको खण्डमा प्रहरीले समन्वय गरिरहेकै छ त। बास्तवमै यदि कोही नागरिक अलपत्र र भोक भोकै भएको अवस्थामा प्रहरीको पहलमा सामाजिक संघसंस्थाको सहकार्यमा उनीहरूको बस्ने र खानेको प्रबन्ध मिलाउने काम पनि त भइरहेको छ नि।

अन्त्यमा

बिश्वमा महामारीको रुपमा देखिएको कोरोना भाइरससँग लड्न हामी सबै एकबद्ध हौ। यसको संक्रमण नहोस् भनेर सरकारले लगाएको लकडाउन हाम्रो अनि मेरो निम्ति हो भनेर पालना गरौँ। प्रहरी तपाईँहरूको साथमा खटिएको छ। साथै यो समयमा कृत्रिम अभाव सिर्जना गर्ने बिरुद्द खरो रुपमा प्रस्तुत हुनसमेत मातहतका अधिकारीलाई निर्देशनका छौ। यदि त्यस्तो भए प्रहरीलाई तत्काल जानकारी दिनुहुन आग्रह गर्छु। अवस्था सामान्य नहुञ्जेल कृपया घरमा बसेर सहयोग गर्नुहोला।

प्रस्तुत कुराकानी हामीले अपराध न्युज बाट साभार गरेका हौँ र प्रस्तुत तस्विर ज्ञवाली डिआईजी हुँदा एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा लिईएको हो। -सम्पादक Covid19ds