लेटाङ्ग/ प्रदेश सरकारले निर्माण गरिरहेको मोरङको पथरीशनिश्चरेबाट लेटाङ नगरपालिकालको जाँते हुँदै ज्यामिरेसम्म जाने सडक निर्माणमा लापरवाही भएको पाइएको छ। सो सडकको पथरीबाट जाँतेसम्मको खण्डमा पर्ने चारकोषे जंगल क्षेत्रमा लापरवाहीपूर्ण तरिकाले कालेपत्रेको काम अघि बढाइएको पाइएको हो।

बिभिन्न विकास निर्माणको अनुगमनका निस्किएको लेटाङ नगरपालिकाको टोली समक्ष स्थानीयवासीले सो सडक निर्माणमा लापरवाही भएको गुनासो गरेपछि नगरपालिकाको प्राविधिकसहितको टोलीले अनुगमन गर्दा मापदण्ड विपरित लापरवाहीपूर्ण तरिकाले निर्माण भइरहेको पाइएको हो। सडक कालोपत्रे गर्नूअघि बेसमा प्रयोग गरिने गिट्टि ४० एमएम भन्दा सानो हुनेपर्नेमा ठूला ठूलो ढुंगा समेत प्रयोग गरिरहेको पाइएको नगरपालिकाका इञ्जिनियर भानुभक्त राईले जानकारी दिनुभयो। यसरी ठूलो ठूलो ढुंगा प्रयोग गर्दा कालेपत्रे सडक चाँडै भत्किने उहाँले बताउनुभयो।

नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडा नम्बर ५ का वडाध्यक्ष तथा प्रवक्ता भूम सूर्यमगर, वडा नम्बर ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, वडासदस्य खेमराज ढकाल र इञ्जिनियरसहितको टोलीले बाटोको अनुगमन गरेको हो।

वडा नम्बर ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडाले निर्वाचनको मुखमा आएर हतार हतार जनप्रतिनिधिलाई थाहै नदिइ गुणस्तरहिन काम गरिएको भन्दै तत्काल काम रोक्नुपर्ने बताउनुभयो । यस्तै वडासदस्य खेमराज ढकालले समेत चुनावको मुखमा कसैको दवावमा हतार हतार काम गर्नुभन्दा केहि दिन ढिलो गरेर भएपनि गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिनुभयो।

नगरपालिकाको टोलीले अनुगमन गरिरहँदा उपस्थित भएका ठेकेदार कम्पनी विनिता श्री कन्ट्रक्सनका प्रतिनिधि नवीन कार्कीले समेत काम गर्ने क्रममा केही गल्ती भएको स्विकार गर्नुभएको छ। किन थाहा पाई पाई गुणस्तहिन काम गरेको भनेर प्रश्न गर्दा उनले ट्रायल गरेको भन्दै गल्ती लुकाउने प्रयास गर्नुभयो।
यता सो सडक हेर्ने प्रदेश १ सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालयका प्राविधिक पवन ढकाललाई यस विषयमा सोध्दा गैरजिम्मेवार जवाफ दिनुभयो। उहाँले कमजोरी भएको स्विकार गर्दै सच्याएर जाने बताउनुभयो। one

यस्तै लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले निर्वाचनको मुखमा आएर स्थानीय तहका जनप्रतिनिधिलाई थाहै नदिइ गुणस्तरहिन काम गरिएको पाइएको भन्दै तत्काल काम रोक्न निर्देशन दिइएको बताउनुभयो । उहाँले जंगलका रुखहरु समेत बीच बाटोमै रहेको अवस्थामा रुख पनि नहटाइ गुणस्तरहिन काम गरेको पाइएको बतउनुभयो।

यसैगरी उपप्रमुख कृष्णकुमारी निरौलाले सानातिना गल्तीलाई नजरअन्दाज गर्न सकिने भएपनि निकै लापरवाहीपूर्ण तरिकाले काम भएकाले सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सो सडकको गाउँखण्डको काम सन्तोषजनक नै भएपनि जंगल क्षेत्रमा भने लापरवाही देखिएको बताउनुभयो।

नगरपालिकाले अनुगमन गरि काम रोक्न निर्देशन दिएपछि ठेकेदार कम्पनीले काम रोकेको छ। तीन बर्ष अघि नेकपा एमालेका नेता शेरधन राई मुख्यमन्त्री रहेका बेला प्रदेश सरकारले ५४करोडमा पथरीबाट जाँते हुँदै ज्यामिरसम्मको सडक कालोपत्रेका लागि ठेक्का लगाएको थियो। सो सडक निर्माणमा निकै ढिलाई भइरहेको अवस्थामा निर्वाचनको मुखमा आएर हतार हतार गुणस्तरहिन काम गर्नुलाई रहस्यमय तरिकाले हेरिएको छ।

यसै क्षेत्रका बासिन्दा समेत रहेको प्रदेश १ का सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरे आसन्न निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार समेत हुनुहुन्छ। वर्षौंदेखि अलपत्र बिकास निर्माणका काम चुनाव नजिकिंदै गर्दा धमाधम अघि बढाउनुलाई निर्वाचनमा जनतालाई आकर्षित गर्न मात्र खोजिएको त होइन भनेर सर्वसाधारणले प्रश्न गरेका छन्।