काठमाण्डौ/ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक फागुन ८, ९ र १० गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बिहीबार बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो।

बैठक पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने निर्णय गरेको पार्टी महासचिव शंकर पोखरेलले बताउनुभयो। तीनदिन सम्म बस्ने बैठकमा राजनीतिक स्थितिको समीक्षा, संगठनात्मक प्रतिवेदन, संगठन शुद्धीकरण र सुदृढीकरण सम्बन्धी विशेष कार्ययोजना निर्माण गरिने महासचिव पोखरेलले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो। 

पार्टीलाई कस्तो ढाँचाबाट अझ व्यवस्थित गर्न सकिन्छ भन्ने बिषयमा पनि बैठकमा छलफल हुने पोखरेलले बताउनुभयो। ‘बलियो राष्ट्रिय शक्तिका रूपमा पार्टीलाई स्थापित गर्न पार्टीले जुन योजना अगाडि बढाएको छ, त्यो योजना कार्यान्वयनका लागि पार्टी निर्माणको योजना बनाउने बिषयमा छलफल गरिने भएको महासचिव पोख्रेलले बताउनुभयो।

उहाँले यो बीचमा वर्तमान गठबन्धन सरकारको कारण राष्ट्रिय हित र जनसरोकारका प्रश्नमा तथा सुशासनका प्रश्नमा गम्भिर विचलन आएको पोखरेलले बताउनुभयो। यसका विरुद्ध जनपरिचालन गर्ने बिषयमा बैठकमा छलफल गरी निर्णय जानकारी दिनुभयो। उहाँले ‘मुलुक आर्थिक संकट तर्फ उन्मुख भईरहेको अवस्थामा राष्ट्रिय हित र जनसरोकारका विषयमा जनपरिचालन गर्ने र दबाब दिने विषयमा एजेण्डा तयार पार्ने खालका विषयमा एजेण्डा तयार गर्ने निर्णय गरेको छ’ बताउनुभयो। 

मिसन ग्रासरुट पछाडि पार्टीले तयार गरेको वार्षिक कार्यक्रमको प्रगति प्रतिवेदन पेश गरेर त्यस माथि पनि छलफल गरिने पोखरेले बताउनुभयो । कार्ययोजना अनुसार गरिएका कामको पनि बैठकमा समीक्षा हुने उहाँले जानकारी दिनुभयो । 

समृद्धिका लागि संकल्प यात्राका क्रममा पार्टीले तयार गरेको प्रतिवेदनको सन्दर्भमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो। पोख्रलले सो प्रतिवेदनको आधारमा मध्यपहाडको समृद्धिको लागि पार्टीको अवधारणा बैठकले तयार गर्ने जानकारी दिनुभयो। 

उहाँले पार्टी प्रवेश गर्ने र पार्टीको अधिवेशन पछि जिम्मेवारीबाट बिदा भएका अगुवा नेताहरु व्यवस्थापनको बिषयमा पनि बैठकमा छलफल गरी निर्णय गरिने  जानकारी दिनुभयो। त्यस्तै पार्टी केन्द्रीय कार्यालय भवन निर्माणको लागि पार्टी सदस्यबाट न्यूनतम एक सय रुपैँया संंकलन गर्ने अभियानको एजेण्डा पनि बैठकमा लाने उहाँले बताउनुभयो। 

बैठकले पार्टीका विभिन्न विभागका सदस्य मनोनित गरिएको पनि पोखरेलले जानकारी दिनुभयो। उहाँले पार्टी केन्द्रीय प्रचार विभाग सदस्यमा माधवप्रसाद नेपाल, इन्द्रप्रसाद आचार्य र मोहन बास्तोलालाई मनोनीत गरिएको बताउनुभयो। 

एमाले अहिले सत्ता राजनीतिको खेलमा नरहेको उहाँले स्पष्ट पार्नुभयो। पोखरेलले जनसरोकारका मुद्दाको अगुवाइ गर्ने पार्टीको रूपमा नेकपा एमाले स्थापित हुनुपर्छ भन्ने मान्यतामा एमाले रहेको प्रष्ट पार्नुभयो।