इटहरी/ खोला पैनी अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सार्वजनिक सूचना जारी गरेको इटहरी उपमहानगरपालिका आफैले भत्काउन शुरु गरेको छ। 

गएको असारमा ३५ दिने सूचना जारी गर्दै अवैध भौतिक संरचना भत्काउन भनेको उपमहानगरले त्यस पछि पटक पटक १५ दिने र ७ दिने सूचना जारी गरेको थियो। समयमा संरचना नभत्काएपछि उपमहानगर आफैले भत्काउन शुरु गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिनुभयो।

उपमहानगरले गएको मङ्गलवारदेखि तालतलैया क्षेत्रबाट टेङ्ग्रा खोलाको क्षेत्राधिकार भित्रका अवैध संरचना भत्काउन शुरु गरेको हो। शनिवार सम्म करिब १किलोमिटर बढि क्षेत्र सफा गरिसकेको सफाई अभियानका संयोजक तथा वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिनुभयो।

कसरी हुँदै छ खोला सफाई ?

टेग्राखोला सफाई अभियानमा ठुलो संख्यामा जनशक्ति परिचालन गरिएको छ। अमिन र इन्जिनियरसहितको २४जनाको प्राविधिक टोली काममा खटिएको छ। दुईवटा समुहमा विभाजन भएको प्राविधिक टोलीले फिल्डमा आवश्यक समन्वयको काम गरिरहेको छ।

कानुनी बिषयमा कानुनी मामिला शाखाका कमल पोख्रेलले सहजिकरण गनुहुन्छ भने प्रशासनिक शाखाको तर्फबाट सञ्जिव खड्काले आवश्यक समन्वयको काम गर्नुभएको छ। सफाई अभियानको संयोजकको रूपमा वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीलाई तोकिएको छ। 

image two३६जना नगर प्रहरीले बिहान दिउँसो बेलुका गरी सुरक्षा दिने गरेको उपमहानगरले जनाएको छ। इटहरी उपमहानगरका ३ स्काभेटर र २ वटा जेसिबीले टेग्राखोलाको क्षेत्राधिकार भित्र रहेका संरचना भत्काउने र सफा गर्ने काम गर्छन्। 

खोलाको पानी बग्ने भागको ३५फिट क्षेत्रमा रहेका रुख, बाँसका झ्याङ, अन्य झारपात भए त्यो पनि सफा गर्ने गरेको छ। 

तालतलैयाको मुहानबाट शुरु भएको सफाईको काम शनिवार सम्म १किलोमिटर बढि भाग सफा गरिसकेको उप–महानगरले जनाएको छ। 

अहिले वडा नम्बर ३क्षेत्रमा सफाइको काम हुँदैछ । अब क्रमशः वडा न. २, ४ हुँदै मुख्य बजार क्षेत्रको टेङ्ग्रा पुल सम्म पुग्ने छ। यहि गतिमा काम भए १५देखी २० दिन भित्रमा टेङ्ग्रा पुल सम्म पुग्ने प्रशासन शाखाका प्रमुख सञ्जिव खड्काले जानकारी दिनुभयो। सोही क्रमले इटहरीको दक्षिणी सीमा जोडिएको स्थान सम्म सफाई गरिने उपमहानगरको योजना छ। 

भत्काउनुपर्ने संरचना कति छन् ?

खोला पैनि र सार्वजनिक जमिन संरक्षण कार्यदल र सो कार्यदल अन्तर्गतको उपसमितिमा रहेका प्राविधिक टोलीले टेँग्राखोलाको मुहान देखी दक्षिणी सीमा सम्म नाप जाँच शुरु गरेको थियो।

सो नाप जाँच र अध्ययन अनुसार ७४वटा संरचना खोला मिचेर बनाइएको छ। यसमा १० वटा नक्सा पास भएका घरहरू छन् बाँकी भने नक्सा पास नभएका भौतिक संरचना छन्। जस मध्ये २२ वटा आर सी सी भवन छन्। 

यस्ता भवन मध्ये घर, सरकारी तथा सामुदायीक भवन, बिद्यालय, चर्चसमेत छन्। गाईबस्तुका गोठ, सुँगुर र बाख्राका खोर पनि छन्। कतिपय ठाउँमा खोला भित्रैबाट जग उठाएर भवन बनाइएको छ। 

image threeयस्तो समस्या वडा न. ४, ६ र ९ मा बढि समस्या देखिएको छ। यी वडामा खोला मिचेर भौतिक संरचना धेरै बनाइएका छन्। यी संरचना भत्काउनुपर्ने उल्लेख छ। 

तालतलैयाको मुहानबाट जति जति दक्षिण तर्फ जान्छ त्यति त्यति धेरै अतिक्रमण गरेको पाइन्छ। वडा नम्बर ३ मा गाईबस्तुका गोठ, सुँगुरका खोर बाख्राको खोर खोलाको क्षेत्राधिकार भित्र बनाइएका छन् भने तल बजार क्षेत्रमा भने घर भवनहरू नै निर्माण गरिएको  छ जुन मापदण्ड अनुसार भत्काउनुपर्ने देखिएको छ। 

टेङ्ग्रा करिडोरको काम पनि सँगसँगै 

उप–महानगरपालिकाले डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि टेङ्ग्रा कोरिडोरको योजना अघि सारेको छ। बिश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण गर्ने उप–महानगरले योजना बनाएको छ।

तालतलैयाको मुहान देखी दक्षिणी सीमा जोडिएको ठाउँ सम्म करिब ९ किलोमिटर क्षेत्रमा कोरिडोर निर्माण हुनेछ। कोरिडोर निर्माणको काम पनि सँगै शुरु गरिएको छ। कोरिडोर बनाउन साइड क्लियरेन्सको काम पनि सँगै हुँदैछ। एकैपटक दुवै कामसँगै भइरहेको उप–महानगरले जनाएको छ। 

पानी बग्ने खोलाको भागलाई ३५फिट छुट्ट्याइएको छ। त्यहाँबाट दायाँ बायाँ २०÷२० फिट थप कोरिडोरका लागि सफा गर्ने काम पनि हुँदैछ। कोरिडोरका लागि वाल लगाउने जेसिबी र स्काभेटरले खन्दै पनि आएको छ। 

खोला सफाई र साइड क्लियरेन्सको काम सकिन साथ विश्व बैङ्कको प्राविधिक टोलीले कोरिडोर क्षेत्रको निरीक्षण गर्ने प्रशासन शाखाका प्रमुख सञ्जिव खड्काले जानकारी दिनुभयो।

विश्व बैङ्कको प्राविधिकसहितको टोलिले अनुगमन गरी आवश्यक लागत स्टिमेट गर्ने उहाँले बताउनुभयो। 

कोरिडोर कुन मोडलमा बन्ने भन्ने विषय त्यहि प्राविधिक टोलीको अनुगमन पछि निर्णय गरिने उहाँले जानकारी दिनुभयो। यसै आर्थिक वर्षमा यो काम सम्पन्न गर्ने लक्ष्य साथ काम अगाडि बढाइएको उहाँको भनाई छ।