इटहरी /  इटहरी खानेपानी उपभोक्ता समितिको सदस्य चयनको लागि भएको निर्वाचनमा ५२.५८ प्रतिशत मात्रै मतदान भएको छ ।

करिब ८ हजार ९ सय मतदाता रहेकामा ९ हजार ६ सय १४ जनाले मात्रै मतदान गरेको निर्वाचन समितिका सहसंयोजक चन्द्र प्रसाद भट्टराइले जानकारी दिए ।

धेरै मतदाता इटहरी भन्दा बाहिर रहेको र मृत्यु भएर गएका व्यक्तिहरूको नाममा जडान भएको धाराको नामसारी नभएको कारणले अपेक्षा गरेअनुरूप मतदान नभएको उनले बताए । ११ वटा मतदान केन्द्रका २० वटा बुथमा मतदान भएको थियो ।

यस्तै भोलि देखि मतगणना सुरु हुने भएको छ ।भोलि बिहान ८ बजे सर्वपक्षीय बैठक बस्ने र मतगणना सुरु हुने भएको छ ।

खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा २० मध्ये १३ वटा वडाबाट १६५ पदका लागि २८० जना उम्मेदवारहरू प्रतिस्पर्धामा थिए । सुरुमा वडाबाट उपभोक्ता समितिको सदस्य निर्वाचित हुनुपर्ने र निर्वाचित सदस्यहरूबाट पदाधिकारी चयन हुने व्यवस्था छ ।

वडा नं १ र २० मा खुल्लातर्फ ७ जना, महिलातर्फ ४ जना, वडा नं ८ मा खुल्लातर्फ १० जना, महिलातर्फ ५ जना उम्मेदवारहरू निर्विरोध चयन भइसकेका छन् । यसै गरी वडा नं ९ र १० का महिला उम्मेदवारहरू क्रमशः ५ र ३ जना निर्विरोध चयन भइसकेका छन् ।

प्रत्येक चार वर्षमा हुनुपर्ने निर्वाचन कोरोना महामारी, स्थानीय निर्वाचन लगायतका कारण देखाउँदै ९ बर्ष सम्म स्थगित थियो ।यो निर्वाचनसँगै खानेपानी इटहरीमा झन्डै दुई दशक नेतृत्व गरेका एमाले नेता रामप्रसाद चौलागाईँले नेतृत्व हस्तान्तरण गर्दैछन् । उनले दुई पटकको निर्वाचनमा विजयी भएर इटहरी खानेपानी उपभोक्ता समितिलाई नेतृत्व गरेका थिए ।