इटहरी / झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र औषधीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरीका एकजना रहेका छन् ।

झापाको अर्जुनधारा नगरपालिका ५ स्थितमा लागूऔषध बेचबिखान भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कन्काइ नगरपालिका ८ का ३१ वर्षीय रविन चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

त्यस्तै, इलाम चुलाचुली गाँउपालिका ५ घर भइ हाल दमक नगरपालिका ३ भुटानी शरणार्थी शिविर स्थित बस्दै आएका ३३ वर्षीय फुर्वा तामाङको घरमा लागूऔषध बेचबिखान भइरहेको भन्ने सूचना पाएसँगै प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले उक्त घरबाट ब्राउनसुगर २ ग्राम ६०० मिलिग्राम, नगद १५ हजार ४५० रुपैयाँ र विभिन्न कम्पनीको मोबाइल २ थान बरामद गरेसँगै तामाङलाई पक्राउ गरेको हो ।

त्यसैगरी विराटनगर महानगरपालिका १६ हुलास चौकस्थित लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित कानेपोखरी गाउँपालिका ५ का ३१ वर्षीय आकाश धिमाललाई पक्राउ गरिएको छ ।

यसैगरी विराटनगर १५ ढाटबाट नाइट्राभेट १६५ चक्की, स्पास्मो ८० क्याप्सुल नियन्त्रित औषधीसहित इटहरीका ४८ वर्षीय सुवास नगरकोटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यता, इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर ४ सय मिलिग्राम र नगद १९ हजार ९ सय रुपैयाँसहित पथरीशनिश्चरेका २१ वर्षीय अनि मगर र २० वर्षीय आनीहान लिम्बूलाई पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।