काठमाण्डौ / भारतीय टेलिभिजन रियाली शो ‘सारेगमप लिटल च्याम्प’ मा नेपालका दुई प्रतिस्पर्धी प्रितम आचार्य र आयुष केसी फाइनलमा पुगेका छन्। शो का निर्णायक र दर्शकको मतका आधारमा प्रितम र आयुषसहित ६ जना आउँदो फाइनलमा पुगेका हुन्।

बालबालिकाबिचको भारतीय गायन रियालिटी शो सारेगमप लिटल च्याम्प जी टिभीमा हरेक शनिबार र आइतबार बेलुका प्रशारण हुँदै आएको छ। आइतबार राति भएको सेमिफाइनलमा ९ प्रतिस्पर्धीमध्ये तीनजना एलिमिनेशनमा परे।

नेपालका आयुष र प्रितमले अन्तिम ६ अर्थात फाइनमा ठाँउ बनाएका हुन्। उनीहरुसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा ठाँउ पक्का गरेका हुन्।

यो प्रतिस्पर्धामा १६ वर्ष भन्दा कम उमेरका बालबालिकाको सहभागिता रहन्छ। यो वर्ष नेपालका ८ प्रतिस्पर्धी सहभागी थिए। १२ वर्षका आयुष र ११ वर्षका प्रितम कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएर टप ३० मा परेका थिए ।