बिराटनगर । लघुवित्त संस्थाको संरक्षण माग गर्दै महिलाहरूले विराटनगरमा प्रदर्शन गरेका छन् ।  विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरूले शुक्रबार  प्रदर्शन  गरेका हुन् । लाखौं महिला संलग्न संस्था नै धरासायी हुने गतिविधि रोक्न भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिएसँगै कर्मचारीहरूसमेत आक्रमणमा पर्न थालेका छन् । बनिबनाऊ संस्थाको संरचना ध्वस्त हुने गतिविधि भएको भन्दै उनीहरुले प्रदर्शन गरे ।

विराटनगर महानगरपालिका, कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट भेला भएका लघुवित्त संस्था सम्बद्ध महिलाले  सन्देशमुलक र दबाबमुलक प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा उत्रिएका उनीहरूले लघुवित्तको सेवा प्रवाहबाट नराम्रो भन्दा धेरै राम्रो धेरै भएकाले संरक्षण गर्न माग गरे । 

‘ऋण तिरे घट्छ, नतिरे बढ्छ’, ‘लघुवित्त जोगाऔं’, ‘गृहमन्त्रलायको निर्णय कार्यान्वयन होस्’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले विराटनगर बजार परिक्रमा गरेका हुन् ।